काठमाडौं । यो वर्षको प्रतीक्षित चलचित्र हो ‘छ माया छपक्कै’ । असोज २४ लाई रिलिज मिति तोकेको चलचित्र कस्तो बन्ला भने उत्सुकता सम्पूर्ण नेपाली चलचित्र प्रेमी दर्शकको मनमा रहेका बेला चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । नेपाली चलचित्रको इतिहासमा बक्स अफिसमा ठुलो हलचल ल्याउन सफल चलचित्र छक्का पन्जाको मेकर्सले निर्माण गरेको चलचित्रको बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । राजनीति र प्रेमको वरिपरि घुमेको ट्रेलरले समग्र चलचित्रको रूपरेखा बताउँछ ।

ट्रेलरमा दीपकराज गिरीलाई राजनीतिसँग जोडिएको एक व्यक्तिको रूपमा देखाइएको छ उनी आफू भन्दा आधा उमेरको केटी (केकी)को प्रेममा परेका छन् । जो आफ्नो राजनैतिक पृष्ठभूमि र प्रेम दुबैलाई धोका दिन नसक्ने स्थितिमा देखिन्छन् ।

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई ट्रेलरमा देखाउन खोजिएको छ । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने लामालाई दीपाश्री निरौलाले निर्देशकलाई सघाएकी छन् ।

चलचित्रको सार्वजनिक ट्रेलर ‘वडा नम्बर ६’ फ्लेवरको रहेको बारे बोल्दै दीपकराजले ‘वडा नम्बर ६’ फ्लेवरमा ‘छ माया छपक्कै’ निर्माण नभएको बताएका छन् । यसबारे थप बोल्दै उनले ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा ३’ सम्म बनाएका चलचित्रको अनुहार फरक भएको र यस पटक पनि फरक अनुहार देखिने प्रस्ट पारे । ‘वडा नम्बर ६’ र ‘छ माया छपक्कै’ को कथामा कुनै मेल छैन’, उनले थपे ।

उनले चलचित्रमा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको बताएका छन् । केदार प्रसाद घिमिरे चलचित्रका कार्यकारी निर्माता हुन् यसै गरी निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा रहेको छ ।

चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लको सम्पादन रहने छ । रोहित अधिकारीले फिल्मको निर्माण गरेको ‘छ माया छपक्कै’मा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहने छ ।


Your Views
Related News