काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चारजना शिशुहरु (चम्ल्याहा) जन्माएकी छन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी हुन्।

यस्तो घटना दुर्लभ भएको चिकित्सकहरुले बताएका छन् । अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो।

शल्यक्रियामार्फत् जन्माइएका ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्। तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको बताइएको छ।

बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सामान्यत : नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ। ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ।

जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमश : झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।


Your Views
Related News