महोत्तरी, ९ असोज । आफ्नै प्रेमीबाट बेचिएकी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला भागेर घर फर्कन सफल भएकी छन् ।

आफ्नै गाउँले सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचिएकी महिला त्यहाँबाट भागेर बुधबार आफ्नो घर फर्कन सफल भएकी हुन् ।

बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् । घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् ।

बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई/तीनजना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौं । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले सुनाइन् ।

ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मु*द्दा दायर गर्न खोजे पनि प्रहरीले मु*द्दा दर्ता नगरेको उनका पतिले सुनाए ।

सो घटनापछि अहिले ती महिलालाई कार्यालयमा बोलाइ बयान लिइएको र बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको बताइएको छ ।


Your Views
Related News