क्यामेराको आवाज बाहिरै सुनिन्थ्यो, खिचिच्क्क, खिचिच्क्क । ४/५ जनाको समूह ‘परिवार’को आवरण तस्बिर खिच्न व्यस्त देखिन्थे । छेउमा थियो, छाताजस्तो घोप्टो परेको क्यामेराको लाइट (ओक्टा), क्यामेराका लेन्सहरु । मेकअप म्यान कुर्सीमा बसेर पोज दिइरहेकी महिलाको घरि कपाल मिलाइदिन्थे, घरि मेकअप । क्यामेरातिर अप्ठेरो गरी पोज दिइरहेकी व्यक्ति थिइन्, विमान चालक (क्याप्टेन) रीता प्याकुरेल ।रीतालाई भेट्न जाँदा उनी फोटोसुटमा व्यस्त थिइन् । अकमकाएको जस्तो पनि देखिन्थिन् । विभिन्न पहिरनमा उनले फोटो खिचाइन् ।

फोटोसुट सकिनासाथ सोधेहालेँ, ‘कस्तो भयो त फोटोसुट ?‘अँ, रमाइलो (हाँस्दै) । हाम्रो त फोटोसुटको बानी छैन नि त ! नयाँ अनुभव भयो । गाह्रो पनि हुँदो रहेछ ।’सजिलो होस् पनि कसरी ? उनलाई त विमान उडाउने जो बानी छ । रीताले विमान चलाउन थालेको १० वर्ष भइसक्यो । फोटोसुट उनको लागि बिल्कुलै नयाँ अनुभव हो ।रीतासँग अहिलेसम्म ७ हजार ८ सय घण्टा विमान चलाएको अनुभव छ । बुद्ध एयरको विमान चलाउन थालेकी रीताले भारतको हैदराबादमा पनि एक वर्ष डोमेस्टिक विमान चलाइसकेकी छन् ।

२० वर्षको उमेरदेखि विमान चलाउन थालेकी रीता कसरी क्याप्टेन बनिन् ?सानैदेखि उनलाई पाइलट बन्ने रहर थियो । आकाशमा कतै विमान उडेको आवाज सुन्नासाथ उनको आँखा त्यतै जान्थ्यो । उनी त्यो विमानलाई आँखाले देखुञ्जेल हेर्थिन् । अनि मनमा कल्पन्थिन्, ‘एकदिन म पनि पाइलट बनेर प्लेन उडाउँछु ।’सिद्धार्थ वनस्थली स्कुल पढ्दा विद्यार्थीहरु कोही डाक्टर, त कोही इन्जिनियर बन्ने लक्ष्य लिन्थे । कसैले रीतालाई सोध्दा भने उनी निर्धक्क भएर भन्थिन्, ‘आफू त पाइलट बन्ने हो ।’ उनका बुबा आर्मीमा भएकाले आफ्ना दुवै जना छोरीलाई डाक्टर बनाउने सोचेका थिए तर रीतालाई त पाइलट बन्नु थियो ।

आमा पनि त्यति सकरात्मक देखिएकी थिइनन् । पाइलटबाहेक अन्य क्षेत्रमै केही गरोस् भन्ने आमाको चाहना थियो । रीताको जिद्दी स्वभावको अगाडि आमा र बुबाको पनि केही चलेन । उनलाई त जसरी पनि पाइलट बन्नु जो थियो !त्यसैले एसएलसी दिएपछि बुद्ध एयरको अफिस पुगिन् रीता । बुद्ध एयरको नम्बरमा फोन गरेर उनले भनिन्, ‘म पाइलट पढ्न चाहन्छु के गर्नुपर्छ ?’यो फोन उठाउने व्यक्ति थिए, सुवर्ण खरेल । उनले भने, ‘यसबारेमा अफिसमा नै छलफल गर्दा कसो होला ?’सुवर्णले रीतालाई विज्ञान विषय पढेर १२ कक्षा सक्न सुझाव दिए ।

१२ सकिना साथ बुद्ध एयरमै भ्याकेन्सी खुल्यो, को–पाइलटको लागि । भ्याकेन्सीबारे थाह पाउना साथ रीताले सोही पदका लागि निवेदन दिइन् । ‘त्यो बेला अमेरिकाले सजिलै भिजा दिँदैनथ्यो । त्यही भएर बुद्धबाट नै ट्रेनिङको लागि छनोट भएँ,’ उनले शुरुवाती उत्साहबारे बताइन् । १२ कक्षा सक्दा उनको उमेर मात्र १८ वर्षको थियो । सन् २००६ मा उनी पाइलट ट्रेनिङको लागि अमेरिका उडिन् । छ महिनाको तालिमका भनेर गएकी थिइन् तर उता १५ महिना बस्नुपर्‍यो । कहिले विद्यार्थी धेरै भइदिने, कहिले मौसम प्रतिकूल भइदिने जस्ता अनेकन समस्याका कारण तालिम अवधि लम्बिन पुग्यो ।

अमेरिकी आकाशमा पहिलो पटक विमान उडाउदा लाग्दा उनलाई आफ्नो लक्ष्यको नजिक छु भनेर लागिसकेको थियो । ‘फस्ट फ्लाइट गर्दाको दिनजस्तो खुसी म कहिल्यै भएको थिइनँ,’ रीताले भनिन्, ‘‘ड्रिम कम ट्रु’ भएको महसुस भयो । मैले जे सोचेर अमेरिका पुगेकी थिएँ, त्यो पूरा भयो भन्ने भएको थियो । पहिलो फ्लाइट जम्मा २० मिनेटको थियो तर मेरो जीवनको यो महत्वपूर्ण घडी थियो ।’आफूले इच्छाएको विषय भएका कारण उनले तालिमताका खुब मिहिनेत गरिन् । सबै कक्षा रमाइलो मानेर सिक्थिन् । त्यही मिहिनेतले परिणाम दिलायो ।

तालिम सकिएपछि त्यसपछि सन् २००८ मा उनी नेपाल फर्किन् । हातमा थियो सिपिल (कमर्सियल पाइलट) लाइसेन्स । त्यो बेला पाइलट बन्न उनले ४० लाख खर्च गरिन् ।१२ सकेपछि त डाक्टर नपढ्ने भए आर्मी बन्न सुझाएका थिए परिवारले नै तर उनको यतै इच्छा थियो । परिवारले पनि उनको चाह बुझेर पछि यसैमा साथ दियो ।‘परिवारको साथ बिना त सायदै केही गर्न सकिन्छ,’ उनले परिवारको महत्व झल्काउँदै भनिन्, ‘मलाई सानैदेखि केही फरक काम गर्न र अन्य कुरा पनि अलग होस् भन्ने लाग्थ्यो । कतिपय मामिलामा म अलि बढी नै चुजी छु, फरक पहिरन, फरक खानेकुरा जस्ता कुरामा मलाई टेस्ट गर्न मन पर्छ ।’

सन् २००८ मा नेपाल फर्केपछि उनी बुद्ध एयरमा आबद्ध भइन् । २००८ को अप्रिल १ मा उनले स्वदेशी माटोमा पहिलो उडान भरिन् । त्यो काठमाडौँदेखि विराटनगरको उडान थियो । ‘मौसमले झुक्याउने दिनमा पहिलो फ्लाइट गरेँ,’ सफल उडानको खुसीलाई हाँस्दै सुनाइन् ।त्यसपछि लगातार उनी उडानमै व्यस्त भइन् । उडानसँगै स्नातक अध्ययनलाई पनि अघि बढाउँदै लगिन् । वर्षमा दुई पटक त पाइलटको विभिन्न तालिम भइरहने हुन्छ । उता तालिम र यता कलेजको परीक्षा एकैपल्ट गर्न नसेकर स्नातक तेस्रो वर्षबाट पढाइ छोडिन् अनि आकाशमै रमाउन थालिन् रीता ।

अहिले बिहानको सिफ्ट हुँदा उनी सबेरै उठ्छिन् । अफिसको गाडी एक घण्टाअघि नै लिन आइसकेको हुन्छ । खाजा खान्छिन् । बुद्ध एयरको अफिस पुगेर सुरुमा बिए (अ*ल्कोहल छ/छैन भन्ने) टेस्ट दिन्छिन् । त्यसपछि अफिसमा गएर आज कताको उडान भर्नुपर्ने हेर्छिन् । ‘कुन डेस्टिनेसनमा जाँदैछु ? त्यहाँको मौसमको अवस्था के छ ? फ्युल प्लानिङ के छ ? यी सबै कुरालाई परीक्षण गर्छौं । फस्ट अफिसर र पाइलटले एयर क्राफ्ट (विमान)को भित्री र बाहिरी इन्स्पेक्सन चेक गर्छौं । त्यसको जाँच पहिले नै इन्जिनियरले गरिसकेका हुन्छन् तर क्याप्टेनले त्यो एयर क्राफ्ट एसेप्ट गर्नुअगाडि सबै चेक गरेर हस्ताक्षर गर्छन्,’

उनले विमान उडाउनु अगाडिको प्रक्रिया सुनाउँदै भनिन्, ‘त्यसपछि इटिसी (एयर क्राफ्ट कन्ट्रोलर)सँग गन्तव्य स्थानको मौसम, भिजिबिलिटी, टेम्प्रेचर सोधेर अनि बल्ल प्यासेन्जर बोर्डिङको अनुमति दिनुपर्छ ।’विमानमा यात्रु भरिइसकेपछि उनी गन्तव्यतिर उडान भर्छिन् ।यात्रुलाई सुक्षित गन्तव्य स्थान पुर्‍याउनु उनको जिम्मेवारी हुन्छ । कहिले ७२ जना त कहिले ४२ जना यात्रुलाई उनी गन्तव्य स्थानमा पुर्‍याइरहेकी हुन्छिन् ।‘पाइलटको काम धेरै हुन्छ,’ उनले आफ्नो जिम्मेवारी सुनाउँदै भनिन्, ‘ए टु बि सेफ ल्यान्ड गराउनु पर्‍यो । ए भन्नाले कहाँबाट उड्दै छौँ र बि भन्नाले गन्तव्य ।

मसँग को–पाइलट हुन्छन् । त्यो अर्बाैं रुपैयाँ पर्ने एयर क्राफ्टको जिम्मा क्याप्टेनको हातमा दिएको हुन्छ । विमानभित्र समस्या आइहाले समाधान पनि खोज्नु पर्‍यो ।’कम्पनीले हरेक पाइलटको १० दिनको सेड्युल निकालेको हुन्छ । १० दिनमा रीता ७/८ दिन विमान चलाउँछिन् । सातौँ दिनमा बिदामा दिने एभियसनको नियम हो । उनी दिनमा तीन वटा फ्लाइट गरिरहेकी हुन्छिन् । हुन त महिनामा १/२ चोटी एकजना पाइलटले ५ वटासम्म फ्लाई गरिरहेको हुन्छ ।आफूले रुचाएको क्षेत्रमा उनी निकै खुशी छिन् । राम्रो मौसम भएको बेला आकाशमा उडिरहँदा उनी रमणीय दृश्य पनि नियाल्छिन् ।

तर ध्यान आफ्नो कामबाट हटाउँदिनन् । ‘हाम्रो मुख्य काम प्यासेन्जरलाई गन्तव्यसम्म ठीक तरिकाले पुर्‍याउनु नै हो,’ उनी भन्छिन्, ‘प्लेन टेकअफदेखि ल्यान्डिङसम्म (ग्राउन्ड, टावर, कन्ट्रोल) एटिसीसँग कुराकानी भइरहेको हुन्छ । कहाँ पुग्यो गन्तव्य स्थानको मौसम कस्तो छ बुझिरहन्छौँ । गन्तव्य स्थानको एटिसीसँग पनि कुराकानी भइरहेको हुन्छ । कुन लेभलमा विमान उडाउँदैछु, अरु प्लेन आइरहेको छ/छैन, त्यो प्लेन जाने बाटोको मौसम कस्तो छ जस्ता कुराहरु गर्दागर्दै हाम्रो समय बितिहाल्छ । को फ्लाइटसँग सिस्टमबाहेक अन्य कुरा पनि भइरहेको हुन्छ ।’

एटिसी र पाइलटको सम्बन्ध नङ मासुको झैँ हुने उनले बताइन् । उनले भनिन्, ‘आकाशमा उड्दा हामी काठमाडौंबाट भैरहवा जाँदैछौं भने उता भैरहवाबाट पनि काठमाडौं आउने प्लेन हुन सक्छन्, त्यो पनि एउटै रुटको । त्यसमा एटिसीले गाइड गर्छ । एटिसी र पाइलटको सम्बन्ध नङ र मासुको झैँ हुन्छ ।’सबै दिन मौसम एक नासको नहुने उनी बताउँछिन् । त्यसैले हरेक फ्लाइट नयाँ अनुभव हुन्छ रीताको । लामो फ्लाइट भनेको धनगढीको हुने गर्छ । त्यहाँको फ्लाइट समय १ घण्टा २० मिनेट हुन्छ । रीतालाई विराटनगर र भैरहवाको उडान भर्न रमाइलो लाग्छ ।

विमान चलाउँदा सानोतिनो इन्सिडेन्ट भइरहेकै हुन्छन् । कहिलेकाहीँ विमान अवतरण गर्ने क्रममा चरा आएर बाधा गरिरहेको हुन्छ भने कहिले कुकुर अनि कहिले नीलगाई आइदिन्छ । यी कुरा पाइलटको लागि हजार्ड हुन् । चाहेर पनि कहिलेकाहीँ पाइलटले यस्ता कुकुर, चरा र नीलगाईलाई बचाउन सकिँदैन । यस्ता घटनालाई पाइलटको भाषामा इन्सिडेन्ट भन्ने गरिन्छ ।रीताले पनि यस्ता अनेकन अनुभव गरेकी छन् । खासमा १० वर्ष लामो यात्रामा यस्ता कुराहरु सामान्य नै लाग्न थालिसके ।एक पटक अमेरिकामा हुँदा आकाशमा नै हराएको अनुभव छ उनीसँग ।

उनले त्यो घटना सुनाउँदै भनिन्, ‘म र मेरी साथी सुनिता विमानमा क्रस कन्ट्री जानु पथ्र्यो । लाइसेन्स पाउनका लागि क्रस कन्ट्रीको फ्लाइट हाम्रो रिक्वायरमेन्टभित्रै पथ्र्यो,’ इन्सिडेन्टको अनुभव सुनाइन्, ‘त्यो बेला हामी जुन रुट फर्कन्छौं नि त्यो रुटमा आर्मी हरुको फा*यरिङलगायत अन्य क्रियाकलाप भइरहेको थियो । एटिसीले त्यो रुट छोडेर अर्को रुट जान निर्देशन दियो तर हामी त हरायौं । कहाँ जाने– कहाँ भयो । केही क्षणपछि एटिसीको निर्देशनमा नजिकैको एयरपोर्टमा ल्यान्ड गर्न सफल भयौँ ।’उनी फ्लाइङमा रिस्क हुने बताउँछिन् ।

अहिले उनकी साथी सुनिता पनि बुद्ध एयरमै कार्यरत छिन् । अहिलेसम्म यस्तो किसिमको अनुभव उनले गर्नु परेको छैन । मौसम ख*राब भएका कारण भने आएको गन्तव्यतिरै फर्केको धेरै अनुभव भने उनीसँग छ । मौसम खराब हुँदा विकल्पमा कता जाने भनेर उनीहरुले अघि नै योजना बनाइसकेका हुन्छन् । मौसम ख*राब हुँदा त्यतैको एयरपोर्टमा विमान अवतरण पनि गर्छन् ।रीता जमिनमा गाडी पनि गुडाउँछिन् तर उनलाई विमान उडाउन नै सजिलो लाग्छ । जमिनमा कति चालकले नियम पालन गरिदिँदैनन् तर आकाशमा त सबैजना नियम पालन गरेरै नै आफ्नो ट्र्याकमा विमान उडाउने गर्छन् ।

त्यसैले उनलाई आकाश जमिनभन्दा सुरक्षित लाग्छ ।उनले यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने काम मात्रै गरेकी छैनन् । कहिलेकाहीँ कोही यात्रुले अन्य यात्रुलाई दुव्र्यवहार गरेको छ भने एक्सन पनि लिइहाल्छिन् किनभने यात्रुको सुरक्षाको जिम्मा पनि त उनको कर्तव्य हो !एक पटक त्यस्तै भयो । विमानमा एक जना पियक्कड यात्रुले अन्य महिला यात्रुलाई दुव्र्यवहार गरेछन् । रीतालाई क्याबिन क्रुले त्यसबारे जानकारी थिए । त्यसपछि फ्लाइट ल्यान्डिङ गर्नासाथ उनले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइदिइन् ।रीता अन्याय सहन सक्दिनन् । भनिन्, ‘मलाई महिला भनेर हेपेको मन पर्दैन ।’

उडान भर्दा पहिला त कतिले ‘केटी पाइलट’ भनेर जिब्रो टोक्थे । कति यात्रु त डराउँथे पनि तर अचेल भने समय परिवर्तन भइसकेको छ । ‘ल्यान्ड भइसकेपछि केटी पो हो पाइलट भन्नेहरु हुन्छन् रे क्याबिन क्रुले भन्नुहुन्थ्यो,’ अनुभव साट्दै उनले भनिन्, ‘कति त खुशी पनि हुन्छन् रे ! मलाई त छोरी र छोरा भन्ने लाग्दैन । छोरीले पनि गर्न सक्छ नि !’अहिले त धेरैजसो महिला पाइलटको संख्या बढेर गएको छ ।गत डिसेम्बरमा रीता साजन केसीसँग वैवाहिक सम्बन्ध बाँधिएकी छन् । साजन पनि पाइलट नै हुन् ।अहिले रीता संयुक्त परिवारमा बस्छिन् ।

काठमाडौँको बालाजुमा उनी सासू, ससुरा, जेठाजू, जठानीसँगै बस्छिन् । श्रीमान् पनि एउटै पेशामा रहेका कारण उनले माइतीको भन्दा कुनै फरक अनुभव गर्नु परेको छैन । उनका पति साजन पनि बुद्ध एयरमै काम गर्छन् । साजनले भने दक्षिण अफ्रिकामा पाइलट ट्रेनिङ लिएका थिए । उनले साजनसँगको सम्बन्धलाई लभ–अरेन्ज म्यारिजका रुपमा व्याख्या गरिन् ।साजन रीताको परिवारिक मित्र थिए । त्यसैले पारिवारिक जमघमै उनको साजनसँग भेट भयो । दुईले एकअर्कालाई मन पराउन थाले । रीताले साजनबारे परिवारलाई जानकारी दिइन् । यता परिवार पनि साजनबारे सकारात्मक देखिएपछि दुवैको बिहे भयो ।रीता अहिले खाना पकाउन सिक्दैछिन् ।

फुर्सदको समयमा किचेन जाने गर्छिन् । जिम्मेवारी थपिएको अनुभव गर्दिनन् । भन्छिन्, ‘नयाँ घर झन् रमाइलो छ । हिजो छोरी भएर जीवन जिउँदै थिएँ, अहिले बुहारी भएँ । यता घरमा पनि सबैको साथ छ मलाई । अलिअलि जिम्मेवारी त लिँदै जानुपर्‍यो नि ! म एउटा असल छोरी त पहिलादेखि नै छँदैथिएँ, असल बुहारी बन्ने कोसिसमा छु ।’ पहिला उनलाई अन्तर्राष्ट्रिय विमान चलाउने रहर पनि थियो । पछि भने रहर हराउँदै गयो । अब त उनलाई स्वास्थ्यले साथ दिउञ्जेल विमान उडाउने रहर छ । ‘म त फ्लाइङ त छोड्न सक्दिनँ होला,’ उनले विमानमोह पोख्दै भनिन्, ‘स्वास्थ्यले साथ दिएसम्म आकाशमै उड्ने रहर छ मेरो ।’


Your Views
Related News