काठमाडौँ — संसद सचिवालयकै कर्मचारी रोशनी महरामाथि करणी गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको हो । आइतबार जिल्ला अदालत काठमाडौंबाट महरालाई पक्रन पक्राउ पुर्जी लिएसँगै प्रहरीले महरालाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो। प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले उनलाई पक्राउ गरेका हुन्। पक्राउ परेका महरालाई सिंहदरबार वृत्तमा राखिने भएको छ ।

आइतवार साँझ महरालाई रातो प्लेट भएको एउटा गाडीमा राखेर प्रहरीले लगेको छ। यसअघि उनले प्रहरीको गाडीमा जान अस्वीकार गरेको विवरण विभिन्न टेलिभिजन च्यानलहरूले दिएका थिए।आरोपबारे समाचार सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न दबाव दिएको थियो। त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए। अदालतले दशैँको बिदा सुरु भइसकेको अवस्थामा प्रहरीलाई महरालाई पक्राउ गर्न अनुमति दिएको हो।

प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन। अर्थात्, आफूलाई लगाइएको आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार उनीसँग सुरक्षित छ। अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन्। र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन्। तर प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा उनले कैद सजायँ भोग्नुपर्नेछ।

करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।


Your Views
Related News