काठमाडाै‌ । यतिखेर नेपालीहरुको घरआँगनमा बडा दशैं २०७६ले प्रवेश गर्दैछ । दशैं बिदा सदुपयोग गर्न कतिपयलाई घुमफिर गर्ने चाहना भएको हुनसक्छ ।

कतिपयलाई घुम्ने चाहना हुँदाहुँदै पनि कहाँ जाने, कसरी जाने भन्ने अन्यौल हुन सक्छ । हामी तपाइँका यस्तै अन्याैल वा कौतुहलता मेटाउन नेपालका घुम्नलायक केही महत्वपूर्ण ठाउँहरुको बारेमा जानकारी दिंदैछौं-

सौराहा

एडभेन्चर र वाइल्ड लाइफप्रति रुचि राख्नेहरुका लागि घुमघाम गर्न निकै उपयुक्त मानिन्छ चितवनको सौराहा । हात्ती राइड र जंगल सफारीका लागि पनि प्रसिद्ध छ सौराहा । दिनभरि राप्तीमा बोटिङ तथा जंगल सफारी, साँझ थारु संस्कृति, नाचगान र आतिथ्यले भ्रमण अविस्मरणीय बनाइदिन्छ । सौराहाको जंगलमा नेपालमा मात्र पाइने एक सिंगे गैंडासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावरहरु पनि अवलोकन गर्न सकिन्छ ।
पोखरा

नेपालको मध्यभागमा अवस्थित पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्त सुन्दर नगरी मानिन्छ । तालैतालको नगर पनि भनेर चिनिने पोखराको बीचमा अवस्थित फेवातालमा देखिने माछापुच्छ्रे हिमालको छायाँले पोखरा आउनुको रोमान्चकता थप बढाइदिन्छ ।

रुपाताल, बेगनास ताल, चमेरे गुफा, डेभिड फल्स्, गुप्तेश्वर महादेव पोखराको अवलोकन गर्न लायक स्थान हो । सराङकाेटबाट फेवातालको अवलोकन तथा प्याराग्लाइडिङ पोखरा घुमघामको अर्को महत्वपूर्ण पाटो हो ।

इलाम

चियाको लागि प्रसिद्ध जिल्ला इलाम पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालको पूर्वी भेगमा अवस्थित इलामका रमणिय वातावरण, डाँडाकाँडा हरियाली चियाबारी, थुम्काथुम्की र बुट्यानहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई मनमोहक पार्दछ ।

हरिया चिया बगानका बिचमा अवस्थित चिल्ला सडकमा पैदल हिंड्न तथा गाडिमा शयर गर्नमा बेग्लै आनन्द मिल्दछ । चिया बाहेक छुर्पीको लागि पनि प्रसिद्ध इलाममा घुम्नका लागि सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, इलाम बजार, गुफाथुम्की, गजुरमुखी रमणीय छन् ।

रारा

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो, जुन मुगु जिल्लामा पर्दछ । याे साैन्दर्यकाे अनुपम खानी मानिन्छ । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताललाई प्रकृतिको अलौकिक छटाके रुपमा लिइन्छ । घामको किरणअनुसार रङ बदल्ने क्षमता राख्ने रारा ताल वरिपरि जंगल र विभिन्न जातजातिका चराचुरुङ्गी तथा फूलहरुको बासनोले यात्रा अविस्मरणीय बन्न पुग्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् ।

जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।पछिल्लो समय सडक सञ्जालले छोएसँगै सुर्खेतबाट दुई दिनको बस यात्रापछि मुगुको गमगढी पुगिन्छ ।त्यस्तै नेपालगञ्जबाट हवाई यात्रा मार्फत पनि पुग्न सकिन्छ ।

लुम्बिनी

गौतम बुद्धको जन्मथलोको रुपमा प्रसिद्ध लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि प्रमुख गन्तब्यको रुपमा लिइन्छ । लुम्बिनीमा रहेको अशोक स्तम्भ, मायादेवीको मन्दिर,बौद्ध बिहार आदी हेर्नलायक छन् । यहाँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै फलदायी भ्रमण गर्न सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बन्यजन्तु अवलोकनका लागि प्रसिद्ध रहेको छ ।नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र बाघ, चितुवा, गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू देख्न सकिन्छ ।
त्यस्तै निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।साथै बर्दियामा थारु संस्कृति हेर्न होमस्टेको पनि ब्यवस्था रहेको छ ।
खप्तड

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। २२५ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको खप्तड संसारकै सुन्दर स्थानमध्ये एकमा पर्दछ । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा रहेको खप्तड हिउँदमा हिउँले सेताम्मे हुन्छ भने यो बेला हरियाली हुन्छ ।विभिन्न हिमाली दुर्लभ रंगीचंगी फूलहरुले यहाँका फाँट मनमोहक देखिन्छ ।

खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । साना ठूला गरी खप्तडमा २२ वटा फाँटहरु रहेका छन् ति फाँटका बिचमा स साना खोला अनि त्यसमाथिका काठे पूलका दृश्यले स्वगकै आभाष गराउँछ । यहाँ खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् ।
मुस्ताङ

हिमालपारीको जिल्लाको नामले चिनिने मुस्ताङ जिवनमा एक पटक पुग्नै पर्ने ठाउँमा पर्दछ । धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ।मुस्ताङ जाँदै गर्दा बिच बाटोमा ढुंगाले छापेका सडक त्यसका वारीपारी स्याउका बोटहरु मनमोहक हिमाल चिटिक्क ढुंगाले छाएका घरहरु देखिंदा अर्कै संसारमा पुगेको आभाष गर्न सकिन्छ ।

ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।

यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ ।
रानीमहल

पाल्पामा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा लिइन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २.३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहल घुम्नलायक ठाउँ मध्येमा पर्दछ ।

युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरी हेर्न लायक छन् ।

यस दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । रानीमहललाई प्रेमको प्रतिकको रुपमा समेत लिइने हुँदा टाढा टाढा देखि प्रेम जोडीहरु घुम्न यहाँ पुग्ने गर्दछन् ।

पूनहिल

विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्येमा परेको म्याग्दीको पर्यटकीयस्थल पुनहिलबाट विश्वको सातौं अग्लो धौलागिरी हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।म्याग्दीको घोरेपानीबाट आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । यो स्थान धौलागिरी हिमशृंखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो ।

नेपालमा पदयात्राका लागि आउने पर्यटकको रोजाइको उत्कृष्ट दशभित्र पुनहिल पदयात्रा पर्छ ।
कालिञ्चोक

काठमाडौं उपत्यकाबाट सवारी साधनमा सहजै पुग्न सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । कालिञ्चोक विशेषगरी कालिञ्चोक भगवतीको मन्दिर भएकाले दर्शन गर्न तथा प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले पछिल्लो पटक आन्तरिक पर्यटकको रुचाइमा निकै पर्ने गरेको छ ।

कालिञ्चोकको अर्को विशेषता भनेको पानी पर्दा र मौसम चिसो हुने बित्तिकै हिउँ पर्न शुरु हुने भएकोले यहाँ हिउँ खेल्न मन पराउनेहरुले थप रमाइलो गर्न पाउने छन् ।

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका परिकारहरु पनि विशेष हुन सक्छ ।
काँक्रेबिहार

काँक्रेबिहार सुर्खेतको बहुचर्चित स्थान हो । जहाँ पुगेपछि तपाईलाई त्यसको सौन्दर्यले पटक-पटक तान्छ । पछिल्लो समय बुढाबुढीदेखि केटाकेटीसम्मको रोजाई बनेको छ ऐतिहासिक काँक्रेबिहार । सुर्खेत बसपार्कबाट दक्षीण पूर्वमा अवस्थित काँक्रेबिहार धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचत छ ।

कुल १७५.५० वर्गकिलोमिटरमा क्षेत्रफलमा फैलिएको काँक्रेबिहार जंगलको बीच टापुमा छ ।काँके्रबिहारमा रहेका मन्दिर तथा बाटोमा रहेका ढुंगामा हातले हुँदेका कलाकृती देख्न सकिन्छ ।जंगलको बाटो हिँड्दै गर्दा चराहरुको चिरबिर आवाजले झनै मन चंगा बनाईदिन्छ । शितल छहारी तथा बाटोबाटोमा बनाईएका चौतारीमा बिश्राम लिँदै कांक्रेबिहार जानुको मजा बेग्लै हुन्छ ।

करिब दुई किलोमिटर पक्की सडक पार गर्ने क्रममा काँक्रेबिहार जंगलका मृग, कोईली, जरायो जस्ता जीबजन्तुहरुको गतिविधि अवलोकन गर्न समेत पाइन्छ ।

अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्ग विश्वको उतकृष्ट १० पदामार्ग मध्ये एकमा पर्ने हुँदा यो पदयात्रा महत्वपूर्ण मानिन्छ । साहसिक पदयात्रा गर्न चाहनेहरुले अन्नपूर्णको यात्रा चयन गर्ने गर्दछन् कारण अन्य हिमाली पदयात्रा भदा यो केहि जोखिमपूर्ण मानिन्छ, यद्यपी यात्रा भने रोमाञ्चक हुनेछ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा लमजुङको बेंसीसहरलाई लिइन्छ । बेंसीसहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुँदै मनाङसम्म अन्नपूर्ण पदमार्गको यात्रा रहन्छ र सकिन्छ ।पदयात्रा सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् ।
घलेगाउँ

लमजुङ जिल्लाको उत्तर पश्चिममा पर्ने घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि घुमफिरका लागि आकर्षक गन्तब्य हो ।घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ ।

यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । लमजुङको घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ ।

गुरुङ समुदायको बाहुल्य रहेको यस गाउँ आतिथ्य र होमस्टेका लागि निकै प्रख्यात रहेको छ ।गुरुङ समुदायको कला संस्कृति हेर्दै लोकल कुखुरा र ढिंडोको स्वादमा घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।
माथि उल्लेख गरेबाहेक पनि नेपालमा घुम्नलायकका अन्य थुप्रै स्थानहरु रहेका छन् । जस्तै: ताप्लेजुङको पाथिभरा, स्याङजाको सिरुबारी, खोटाङको हलेसी महादेव, बागलुङको ढोरपाटन शिकार आरक्ष, मनाङको तिलिचो ताल, गोरखाको कालिका दरबार, मनकामना, कैलालीकाे टीकापुर पार्क तथा कर्णाली चिसापानी, काठमाडौंको चन्द्रागिरि आदिलाई लिन सकिन्छ ।

Resource by News24News


Your Views
Related News