काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो टुक्का सहितको भाषणका लागि परिचित छन् । उनले प्राय घतलाग्दो शैलीमा भाषण दिएर मख्खै पार्ने गरेका छन् भने आफ्नो विरोधीको त भाषणबाटै सातो खाँदै आएका छन् । सोमबार उनै प्रधानमन्त्री ओलीले आफ्नो पालामा इतिहासमै नभएका कामहरु सम्पन्न भएको दाबी गरेका छन् ।

सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’ त्यस्तै, उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको पनि बताए । उनले भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए । उनले आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाएपनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाज आउन थालेको दाबी गरे ।


Your Views
Related News