काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए। यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६स्१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।


Your Views
Related News