पछिल्लो एक दशकदेखि गायन तथा मोडलिङमा निरन्तर सक्रिय दुर्गेश थापा भारतीय सेनाबाट भागेर नहिँडेका भए आज उनलाई चिन्ने कमै हुन्थे। उनको परिचय घर परिवार र आफन्तमा मात्र सिमित हुन्थ्यो। बाग्लुङको गल्कोट स्थायी घर भएका दुर्गेशका बुबा भारतीय आर्मीमा थिए। गाउँघरमा बाबु लाहुरे भयो भने छोरो पनि लाहुरे नै हुनुपर्छ भन्ने मान्यता स्थापित थियो। बुबा यमबहादुर भारतीय आर्मीमा भएकाले उनलाई पनि लाहुरे नै बन्नुपर्ने पारिवारिक दबाब थियो।

भारतको सिक्किममा जन्मिएका उनी १२ वर्षको उमेरमा बागलुङ फर्किए। बुबाको सरूवा भएपछि आमा पवित्रा कुमारीले उनलाई नेपाल ल्याएकी थिइन्। उनी दुई छोरी र दुई छोरा मध्ये घरको जेठो सन्तान उनी सानोमा लोक गीत सुन्न र गुनगुनाउन रूचाउथे। सानैदेखि गायक र मोडल बन्ने सपना पालेका उनी बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा होमिएका भने होइनन्। तर, घर परिवारको इच्छा छोरालाई आर्मी बनाउनु थियो।

बाग्लुङकै श्रृजना मावीबाट एसएलसी दिए पछि उनी पुनः भारत गए। भारतमा तीन वर्ष बसेर १८ वर्षकै उमेरमा दुर्गेश बाबुसँगै भारत गएर भारतीय सेनामा भर्ती भए।तर, दुर्गेशका लागि भारतीय सेनामा भर्ती हुनु रहरभन्दा पनि बाध्यता मात्र थियो। उनी परिवार तथा सामाजिक दबाबमा भारतीय सेनामा भर्ति भएका थिए। माथिल्लो पदका हाकिमले तल्लो पदका जवानहरूलाई हेप्ने कुराले उनको मन दुख्यो । उनी फौजी नीति–नियमभित्र बस्न सकेनन्। आर्मी बन्न दुःख खेप्नुपर्ने देखेपछि परिवारको सपना भताभुंग पारेर फौजी जीवनलाई बाईबाई गर्दै भागेर नेपाल फर्किए।

उनको यो कदमबाट दुर्गेशका बुबाआमा खुसी भएनन्, घरपरिवारमा निराशा छायो। घरको अवस्था यतिसम्म बिग्रियो कि परिवारका सदस्यहरूले नै दुर्गेशको वास्ता गर्न छाडे, बुबाआमासँग बोलचाल नै बन्द भयो। त्यसपछि दुर्गेश भौँतारिएर हिँड्न थाले। दाई संगीतकार एवं गायक बसन्त थापाले काठमाडौं आउन हिम्मत दिए। संयोग पनि कस्तो भने बिरक्तिएर झन्डै एक्लो जीवन बिताइरहेका गायक दुर्गेशका लागि गायक तथा संगीतकार वसन्त थापा नयाँ सम्भावना बनेर आएका थिए। वसन्त उनका ठूलोबुबाका छोरा हुन्। ‘म गाउँमा भौंतारिएर हिँडिरहेको थिएँ। वसन्त दाइले काठमाडौँ हिँड, जागिर लगाइदिन्छु भन्नुभयो अनि म उहाँकै साथ लागेर काठमाडौँ आएँ,’ आजभन्दा १२ वर्ष अगाडि काठमाडौं आउनुको रहस्य उनले खोले। वसन्तले दुर्गेशलाई काठमाडौं ल्याएर कृष्ण फिल्म्समा डान्स क्लासमा भर्ना गरिदिए।

करिब पाँच महिनाजति डान्स सिकेपछि उनलाई कोरस डान्स गर्ने प्रस्ताव आयो। त्यसपछि उनी मोडलहरूको पछाडि नाच्न थाले। सुरूवातीका दिनमा उनले ६० भन्दा बढी गीतमा कोरस नाचे। एउटा कोरस डान्स गरेबापत २ सय ५० रुपैयाँ पारिश्रमिक पाउँथे। जस्तोसुकै पेसामा पनि सुरुवाती दिन निकै कठिन हुन्छन् भने जस्तै दुर्गेशका सुरूवाती दिन पनि संघर्षमा बिते। ‘आर्थिक अभावले कयौं दिन चाउचाउ खाएर रात कटाएको छु’, उनले विगत सम्झिए,‘आफूसँग पैसा नहुँदा कुनै कुनै दिन बाहिर सडकमै पनि रात बिताएको छु।

आफूले कैयौँ रात कान्तिपुर मल अगाडि सडक बालकहरूसँग रात बिताएको छु।’कोरस नाचेर मात्र खर्च धान्न मुस्किल हुन थालेपछि उनी टेकुको एउटा डान्स बारमा काम गर्न थाले। उनले बारमै राम्रो डान्स गर्न पनि सिके। कोरस नाच्दानाच्दै केही बिग्रिएपछि निर्देशकले निकालिदिएको क्षण अहिले दुर्गेशका आँखा अघि तेर्सिन्छन्। अरूले जति अपमान गरे पनि उनले त्यसलाई मनमा लिइरहे।दुर्गेशलाई ‘विष नभएको सर्प र इख नभएको छोरा’ काम छैन भन्ने उखान राम्रोसँग थाहा थियो। त्यसैले दुर्गेश एक दिन सांगीतिक क्षेत्रको बादशाह बनेर निस्कन्छु भन्ने इख लिएर निरन्तर हिँडिरहे। ‘डान्सबारमा नाँचिरहदा सायद मैले केही बिराएको थिए कि के हो, मलाई निर्देशकले मुख छोडेर गालि गर्नुभयो। नरमाइलो लाग्छ, त्यो पल सम्झिँदा।

अर्को मनले भन्छ सायद त्यसरी निर्देशकले गाली नगरेको भए म आज यहाँसम्म आउने थिएन कि,’ उनले भने।नाच्दा नाच्दै उनले २०६६ सालमा ‘अँधेरीमा जुन लागेकै हो…’ गीत गाएर गायन कला पनि देखाए। त्यसपछि वसन्त थापाको ‘जूनले मात्र देख्छ…’ गीतमा डान्स गर्ने मौका पाए। गायकका रूपमा चर्चा नभए पनि दुर्गेशको मोडलिङको विषयमा चर्चा हुन थाल्यो। तर ‘मुद्दा हाल्दिन्छु…’ गीत बजारमा आएपछि दुर्गेशको गायन कलामा धेरैले प्रशंसा गर्न थाले। २५ सय भन्दा बढी भिडियोमा अभिनय गरिसकेका दुर्गेशले अहिलेसम्म २५ भन्दा बढी गीतमा स्वर दिइसकेका छन्। ‘तिम्रो एक्स र मेरो वाई मिक्स गर्नु छ…’, ‘रातो रातो खुर्सानी पिरो छ..’, कि दुर्गे सेलमा, कि दुर्गे जेलमा.सँगै पछिल्लो समयको ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा…’ जस्ता गीतले उनको चर्चा एककाएक चुल्यायो।

लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तिको ‘हाँस्न सिकायौ…’गीतमा अभिनय गरेसँगै उनले पछि फर्केर हेर्नुपरेको छैन। अहिले उनलाई गाउन र मोडलिङ गर्न भ्याई नभ्याई छ। हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा भन्ने तीज गित रिलिज भएपछि युवा पुस्तामाझ झनै लोकप्रिय हुन थाले। छोटो समयमै गीतले चर्चा बटुल्यो। टिकटकमा अभिनय गरेर छोटो भिडियो अपलोड गर्नेको होडबाजी नै चलेको छ।

यो गीत सबै उमेर समूहका स्रोता दर्शकको जिब्रोमा झुन्डिएको छ। ‘तीजमा हामी पनि दिदी बहिनिसँग नाचेर रमाइलो गर्नुपर्छ। त्यो पो हो गज्जबको तीज’, टिपिकल शब्दहरू उनेर मिठो लयमा गीत गाउने दुर्गेश भन्छन्, ‘मेरा फ्यान विशेष गरि दुई तीन वर्षका बच्चाबच्ची देखि टिनएजका केटाकेटीसम्म हुन्छन्।’गीत गाउन थाले तीन वर्ष मात्र भए पनि अहिले उनी नेपालका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता जनाउन सक्रिय छन्। उनले आजकल गज्जब गज्जबका फ्यान भेटेका छन्।‘एक दिन कुरा हो म सुटिङमा थिएँ। हनुमान ढोकाबाट फोन आयो-तपाईंको भाइ भेट्न आएको छ भनेर।

अनि म छिटो छिटो गरेर गएँ? तर त्यहाँ मेरो भाइ नभएर फ्यान पो हुनुहुँदो रहेछ। एसएलसीको परीक्षा छोडेर उहाँ मलाई भेट्न आउनु भएको रहेछ,’ उनले सुनाए। उनी आफूलाई गायकको रूपमा भन्दा पनि मोडलको रूपमा अब्बल ठान्छन्। ‘म गायक होइन, विशेस गरि स्टेज तताउने दुर्गेश हुँ जहाँ नयाँ-नयाँ मोडलसँग अभिनय गर्छु,’ उनले भने। उनी हरेक पटक नयाँ नयाँ मोडलसँग अभिनय गर्छन्।

गीत गाउँछन्। ‘पुरानो मोडलहरू आफैमा चर्चित छन्। तर, प्रतिभा भएर पनि स्थान नपाएकाहरू भौतारिरहेका हुन्छन् उनीहरूलाई पनि स्थान दिनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ। केही मान्छेहरूले उनलाई घमण्डीसमेत भन्ने गरेका रहेछन् तर उनी भन्छन्,‘म सादा जीवन उच्च विचार राख्ने मान्छे हो। मलाइ बाहिरबाट हेर्दा त्यस्तो लाग्नसक्छ। तर, मसँग नजिकिएर हेर्नुस त्यस्तो छैन।’ब्रेकलिङ न्युजबाट साभार।


Your Views
Related News