काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबाट नेपाल भित्रिने तरकारीमा बिषादी जाँच नगरिने बारेमा जवाफ दिएका छन् ।नयाँबानेश्वरस्थित संसद् भवनमा नेकपा संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नाकाहरूमा पूर्वाधार तथा आधुनिक मेसिन नभएका कारण मन्त्रिपरिषद्ले विषादी जाँचसम्बन्धी गरेको निर्णय हाललाई फिर्ता लिएको बताएका हुन् ।ओलीले नाकामा पूर्वाधार तथा मेसिन नहुँदा जाँचमा समय लाग्ने गरेको र त्यसबाट तरकारी कुहिने र बिग्रिने भएको हुनाले निर्णय तत्कालका लागि फिर्ता लिएको सांसदहरुलाई जानकारी दिए ।संयुक्त जाँच चौकी निर्माण गर्ने क्रम सुरु भएको र ती सबै तयार भइसकेपछि यस्तो समस्या नहुने दाबी प्रधानमन्त्रीको छ ।यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने जानकारी दिए ।


Your Views
Related News