प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ।

प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका खबर नयाँ पत्रिकामा छ ।

प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् ।

वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । नेपालसँगको सम्बन्धबारे लामो समीक्षापछि उनले मिलेर पार्टीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले नेता वामदेव गौतमलाई मनाउन कास्कीबाट निर्वाचन लड्नसमेत जोड दिएका थिए ।

त्यति मात्र होइन, उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्नसमेत आग्रह गरेका छन् । गौतमसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउने विषयले नेकपाभित्र प्रवेश पाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।


Your Views
Related News