काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य नेता भीम रावलले मन्त्रीपरिषद पुनर्गठनको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति आपत्ति जनाएका छन्।

बिहीबार साझ सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले पार्टी राजनीतिमा राष्ट्रपतिलाई संलग्न गरेको बिषयप्रति आपत्ति जनाएका हुन्। ‘संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीको चयनमा संलग्‍न रहेको देखिने कार्य किन गरियो ? भन्दै रावलले प्रश्न गरेका छन् ।

पार्टी अध्यक्ष रहेका प्रधानमन्‍त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘पावर डिल’ र मन्‍त्रिमण्डलको पुनर्गठनको विषय राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखेर टुंगो लगाइएको विषय बाहिर आएपछि नागरिकस्तरबाट समेत राष्ट्रपतिको भूमिकाबारे चासो र चिन्ता व्यक्त गरिएको छ।

हेर्नुहोस भिम रावलको ट्वीट:

नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई ! मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि यस सन्दर्भमा निम्नलिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्ः

१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष) राजनीति र मन्त्रीको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?

२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?

३. विगतमा कम्युनिस्ट पार्टीविरुद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो?

४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?


Your Views
Related News