काठमाडौं, ६ मंसिर । राष्ट्र बैंकका डेपुटी गभर्नरका दौडमा रहेका चिन्तामणि सिवाकोटीसँग अकुत सम्पत्ति रहेको विवरण फेला परेको छ ।

दुई छोरीलाई अमेरिकामा खर्च गरी पठाएका सिवाकोटीले उनीहरूसहितका नाममा सम्पत्ति रहेको झूठा विवरण तयार पारी सम्पत्ती शुद्धिकरण विभागलाई पठाएका छन् तर त्यसमा पनि कतिपय स्रोत खुलाइएका छैनन् । जुन विवरण राष्ट्र बैंकमै पनि सुरक्षित छ ।

सिवाकोटीले सम्पत्ति विवरणमा एक मोटरसाइकल र पत्नी कमला ओझाका नाममा एक स्कुटर देखाएका छन् । स्वआर्जन र कर्मचारी सुविधाका कतिपय आर्थिक विवरण देखाए पनि उनले आफ्ना दुई छोरीलाई अमेरिका पठाएको स्रोत, त्यहाँ पठाएको खर्चको आम्दानीका बारेमा केही पनि खुलाएका छैनन् ।

उनका दुई छोरी सलुजा र समिक्षा सिवाकोटी अमेरिकामा छन् । दुई छोरीका नाममा पनि बैंक खातामा रकम रहेको जसलाई सिवाकोटीले पत्नी ओझाको तलबभत्ता सुविधाको विवरणमा राखेका छन् ।

त्यतिमात्र होइन, उनले आफ्नो तलब भत्ता सुविधाको रकम भनी माछापुच्छ्र«े बैंक, नबिल बैंक, सिद्धार्थ, कृषि विकास बैंकलगायतमा खाता रहेको विवरण प्रस्तुत गरेका छन् । जुन उनको आर्थिक हैसियत, रवाफ र दैनिकी सञ्चालनभन्दा निक्कै कम देखिन्छ ।

तलबभत्ता, बैंक कर्जालगायतका विभिन्न शीर्षक राखी एक करोड भन्दा बढीको शेयर लगानी विभिन्न वित्तिय संस्था, हाइड्रोलगायतमा रहेको उनको विवरणमा उल्लेख छ ।

कतिपय रकम स्वआर्जन शीर्षकमा राखिएका छन् । तर केबाट कसरी आर्जन गरियो भन्ने कुनै खुलासा गरिएको छैन । उनले बुझाएको सम्पत्ति विवरणमा नै कतिपय आयआर्जनको शीर्षक नखुलाउनु, स्वआर्जन लेखिनु शंकास्पद रहेको छ ।

सिवाकोटी आगामी गभर्नर बन्नका लागि सत्तारुढ पार्टीको छायाँमा सक्रिय छन् । सञ्चारमन्त्री गोकुल बास्कोटा उनका साथी भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उनले लविङ थालेको उच्च स्रोतले जनाएको छ ।


Your Views
Related News