काठमाडौं, ८ मंसिर । आफै मोटर चलाएर चार दिन अघि घरवाट निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उत्तम राई अझै घर नफर्किए पछि परिवारका सदस्यले खोजिगरिदिन प्रहरी र पार्टीलाई आग्रह गरेका छन् ।

बुधवार ,साथीलाई भेट्नु छ’ भन्दै मोटर लिएर निस्केका उनी अझै घर फर्केका छैनन् । उनले चलाएको मोटर भने तीन दिन पछि अनामनरमा फेला परेको छ । काठमाडौं मण्डिखाटारस्थित घरबाट साथीलाई भेट्न निस्केका ७१ वर्षीय राई बेपत्ता भएपछि परिवार चिन्तामा परेको छ ।

राई अल्जाइमर्स रोगका पीडित रहेको परिवारले जनाएको छ । उनले हाँकेको गाडी सिंहरदबारको पूर्वी गेट अनामनगरमा भेटिएको छ । साथीले बोलाएको छ, बाहिर गएर आउँछु’ भनेर निस्केका उत्तम घर नफर्केको भन्दै राईकी पत्नी उषाले खोजि गरिदिन प्रहरीलाइ खबर गरेको बताइन् ।

बुधबार बिहान खाना खाएर घरबाट निस्केका राई घर नफर्किएपछि परिवारका सदस्यले उनी जान सक्ने सम्भावित क्षेत्र सबैतिर खोजेको छ । तर उनी अझै फेला नपरेको उषाले बताइन् । पहिले चालक साथमा जाने गरेपनि यसपटक राई ‘वर्षौंदेखि मोटर चलाउँदै आएको छु, केही हुँदैन’ भन्दै निस्केको उनले बताइन् ।

राप्रपाका नेताहरुले समेत बेपत्ता राईलाई खोजिदिन सामाजिक सञ्जालबाट आग्रह गरेका छन् । राप्रपाका केन्द्रीय सदस्य भरत पाठकले अनामनगरका सीसी क्यामेरा फुटेजमा बुधबार राती साढे ११ बजेतिर राई मोटरमा निस्केर हनुमानस्थानतर्फ जाँदै गरेको देखिएको तर त्यसपछि बेपत्ता रहेको बताएका छन् ।

अंग्रेजी साहित्यका पूर्व सहप्राध्यापक राई करिब डेढ वर्षदेखि अल्जाइमर्सको उपचार गराइरहेका थिए ।


Your Views
Related News