बाजुरा : घरमै सुत्केरी भइ साल नझरेपछि सामुदायिक इकाई गोत्रीमा अचेत अवस्थामा उपचारका लागि ल्याएको ३५ वर्षीया पुल्ती रावलको साल नझरेका कारण उनको मृत्यु भएको छ । उनको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बाजुरा सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दुरीमा पर्ने जगन्नाथ गाउँ पालिका–५ गोत्रीकी रावलको स्वास्थ्य इकाईमा साल निकालेपछि होसमा आएकी थिइन् । तर, रक्तश्राप नरोकीएपछि उनको मृत्यु भएको अहेब अमर बुढाले बताए ।

‘स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी हुनुपर्ने चेतना अझै पनि गाउँमा छैन, स्वास्थ्य संस्थामा सुत्केरी हुने भन्दा पनि घरमै सुत्केरी गराउन खोज्ने र गाह्रो भएपछि मात्र स्वास्थ्य संस्थामा ल्याउने प्रचलनका कारण यस्ता समस्या आएको हो’ जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए । यस वर्ष मात्र रावल लगाएत स्वास्थ्य संस्थामा मृत्यु हुने सुत्केरीको संख्या तिन पुगेको छ ।

गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्त श्रावका कारण उपचार हुन नसकेर बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो ।

त्यस्तै गत कात्तिक २५ गते त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टापछि ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भयो भने हिजो राति मृत्यु भएकी रावलको स्वास्थ्य संस्थामै मृत्यु भएको बाजुरा प्रमुख विश्वकर्माले जानकारी दिए ।


Your Views
Related News