काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कालपानी क्षेत्रबाट भारतीय सेना हट्नुपर्ने बताएका छन्। जनस्तरबाट बनाइएको नक्सा हस्तान्तरण गर्न गृह मन्त्रालय पुगेको सीमा बचाउ अभियानसँग गृहमन्त्री थापाले नेपाली भूभागबाट भारती सेना हट्नुपर्ने बताएका हुन्। लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो, यसमा सरकार स्पष्ट छ, प्रमाण पनि हामीसँग प्रशस्त छन’्, उनले भने,‘त्यसकारण त्यो भूमिको स्वामित्व हाम्रो हुनुपर्छ, हाम्रो भूमिबाट भारती सेना हट्नुपर्छ।’ भारतीय सेना नेपाली भूभागबाट हटाउन र मिचेको नेपाली भूभाग फिर्ता गराउने विषयका सरकारले कुटनीतिक कदम अगाडी बढाएकोसमेत उनले दाबी गरे।
कालपापानी क्षेत्रमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोस्ट राख्ने तयार भइरहेको जानकारी उनलेदिए। लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्रै होइन अन्य धेरै ठाउँमा सीमा मिचिएको बताउँदै गृहमन्त्री थापाले ३०/३५ किलोमिटरको दुरीमा रहेको बीओपीलाई १०÷१० किलोमिटरको दुरी राखने योजना बारे जानकारी गराए। उनले कालपानी क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यतालाई सरकारले बुझेको बताउँदै बाटो बनाएर जनतालाई जाड्ने प्रयास भइरहेको स्पष्ट पारे।
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई भेट्न पाएनन् । संक्रमणको जोखिम हुनसक्ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन्।
देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए।अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताए । देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए। संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले भने, ‘चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।’ यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की २ मा आफ्नो पार्टीको उम्मेदवार विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्चित गरिदिएको बताएका छन् । परिणाम निकाल्ने कुरा के हुन्छ रे भने पार्टी र जनताको राम्रा कामको योग र हाम्रा विरोधीले गर्ने नराम्रा कामको योग, ‘उनले भने, ‘यहाँ हाम्रा विपक्षी नेपाली कांग्रेसका नेताहरुले जसरी भाषण गर्नुभयो, त्यसले पनि हाम्रो विजय सुनिश्चित भएको देखेको छु ।’आफ्नो पार्टीका उम्मेदवारको विजय सुनिश्चित गराइदिएकोमा कांग्रेस सभापति देउवालाई अध्यक्ष दाहालले धन्यवाद दिए । ‘नेपाली कांग्रेसका शेरबहादुरजी, जसले यहाँ आएर पोखरामा ठाडै झुठो बोल्नुभयो ।
संसारले देखेको उज्यालो, छ्यांगै घाम, पोखरा आएको बेलामा हत्केलाले सूर्य छोप्नेजस्तो नाटक गर्नुभयो, ‘उनले भने, ‘उहाँलाई म धन्यवाद भन्न चाहन्छु, उहाँले कमरेड विद्या भट्टराईको विजयलाई सुनिश्चित गरेर गइदिनुभयो ।’देउवाले केही दिनअघि पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । प्रचण्डको कटाक्ष त्यसैप्रति लक्षित थियो ।
भारतले कालापानीमा सीमा मिचेको सन्दर्भमा प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक दाहालले स्मरण गरे । ‘म देब्रेपट्टि छु प्रधानमन्त्रीको, शेरबहादुरजी दाहिनेपट्टि हुनुहुन्छ,’ दाहालले भने, ‘उहाँले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठिक छ, तपाईंलाई धन्यवाद, तपाईंले लिएको राष्ट्रियताको अडानमा पनि हाम्रो पूरै सहयोग हुन्छ भनेको मेरो कानमा अहिले पनि टिनिन्न बजिरहेको छ ।’त्यस्तो व्यक्तिले पोखरामा आएर सल्लाहमा भारतले नक्सा छापेको हो भन्दा लाजमर्दो भएको दाहालले बताए ।
‘म नेपाली कांग्रेसका साथीलाई सुझाव दिन चाहन्छु, तपाईंहरु गहिरो गरी आत्मसमीक्षा गर्नुहोस्, उनले भने, ‘तपाईंहरु पनि संविधान निर्माणको हाम्रो सहयोगी, सहयात्री नै हो । तपाईं साह्रै तल खसेको पनि मलाई त्यति मन पर्दैन । साह्रै तल खसेर साह्रै झुठ बोलेको देख्दा त चिन्ता पनि लागेको छ ।’आफूले १२ बुँदे र बृहत शान्ति सम्झौता गरेको गिरिजाप्रसाद कोइरालाको पार्टी भएकाले कांग्रेसको चिन्ता लाग्ने दाहालले बताए । उनले भने, ‘मेरो सुझाव छ, तपाईंहरु आत्मसमीक्षा गर्नुहोस्, यसो गर्न छोड्नोस् ।
झुठो बोल्न छोड्नोस् । बेइमानी गर्न छोड्नोस् । र, अलिकति संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई पक्रने कोसिस गर्नोस् ।’ होइन भने यही बुद्धिले नेपालको इतिहासमा नेपाली कांग्रेस किंवदन्ती बन्ने टिप्पणी दाहालले गरे । ‘यही बुद्धि हो भने नेपाली कांग्रेस भन्ने पार्टी थियो भन्ने ठाउँमा पुग्न कत्ति बेर छैन,’ उनले भने, ‘मैले त्यस्तो नहोस् भन्ने चाहेको छु । प्रतिपक्ष पनि राम्रै ठाउँमा रहोस् भन्ने चाहेको छु । तर यो बुद्धिले त उहाँहरु प्रतिपक्षमा पनि रहने छाँट देखिएन ।’