भजनी नगरपालिकाको हुलाकी सडकदेखि भजनी बजार क्षेत्र जाने ८१० मिटर सडक निर्माणको काम समयमै नहुँदा त्यहाँ आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।

उक्त नगरपालिका वडा नं ३ ठेकीपुरदेखि भजनी बजार जाने सडकको ७५० मिटर सडक नगरपालिकाले अघिल्लो आर्थिक वर्षमै कालोपत्रे गरी बाँकी रहेको ८१० मिटर सडक निर्माणका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको थियो । निर्माणको सम्झौता आर्थिक वर्ष २०७४÷७५ को असारमै भई पुस मसान्तभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चालू आवको जेठ मसान्तमा आएर काम शुरु गरेकाले समस्या भएको हो ।

बर्खाको समयमा काम शुरु हुँदा चिप्लो भएका कारण सडकबाट सवारी साधन ओहोरदोहोर गर्न समस्या हुने गरेको छ । सडकमा दायाँबाँयाबाट माटो तानेर सडकमा हाले पनि ग्राभेल नहालेका कारण दुर्घटना हुनसक्ने सम्भावना बढेको छ भने सवारी साधनहरु माटोमा भासिने गरेका छन् । मङ्गलबार बिहान विद्यार्थी ल्याउन हिँडेको मदरल्याण्ड इङ्लिश बोर्डिङ स्कुलको बस सोही ठाउँमा भासिँदा विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएको त्यहाँका प्रिन्सिपल खडक बुढाले बताउनुभयो ।

स्थानीय खुसीराम चौधरीले निर्माण कम्पनीले समयमा बाटो निर्माणको काम शुरु नगरेकाले आफूहरुलाई सास्ती खेप्न बाध्य बनाएको बताउनुभयो । उहाँले सडकको अवस्था यस्तै रहे दुर्घटना धेरै हुने र ज्यान जोखिममा राखी यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ हरि शाहले भने निर्माणको काम ढिलाइ हुनामा नगरपालिका र स्थानीयवासी नै दोषी रहेको बताउनुभयो ।

उहाँले उक्त सडक नक्सामा नरहेको र स्थानीय जग्गाधनीले निर्माण शुरु हुँदा अवरोध गरेका कारण पनि निर्माणको काम समयमै सम्पन्न हुन नसकेको गुनासो गर्नुभयो । “नक्सामा बाटो नभएकाले नगरपालिकाले स्थानीयवासीसँग समन्वय गर्न ढिलाइ ग¥यो,” शाहले भन्नुभयो, “जब निर्माणको काम शुरु भयो तब स्थानीयवासीले अवरोध गरेकाले फेरि काम बन्द गर्नुप¥यो ।”

करीब रू ९३ लाखको लागतमा कुँवर कन्स्ट्रक्सनले ठेकीपुरदेखि भजनी बजार क्षेत्रको ८१० मिटर सडक ग्राभेल गर्ने र कान्द्रा नदीको किनारमा तटबन्ध निर्माण गर्नेे ठेक्का पाएको थियो । सहरी विकास मन्त्रालयको बजेट भएका कारण नगरपालिकाले कुनै पनि काम नगरी समन्वय मात्र गरेको उक्त नगरपालिकाका इञ्जिनीयर भक्तराज जोशीले बताउनुभयो ।


Your Views
Related News