काठमाडौँ,२६ मङ्सिर। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।
नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताउनुभयो । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिनुभयो ।
प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीले विद्युत्का तारलाई भूमिगत गर्ने कार्य पुस महिनाको पहिलो हप्तादेखि नै सुरु गरिने जानकारी दिनुभयो । “तार भूमिगत गर्नका लागि आवश्यक तयारी पूरा भइसकेको छ, डिसेम्बर १५ देखि काम नै सुरु हुनेछ,” उहाँले भन्नुभयो, “२०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न हुनेछ ।”
उहाँका अनुसार विद्युत्को तार भूमिगत गर्नका लागि आवश्यक अधिकांश उपकरण र सामग्री काठमाडौँ आइपुगेका छन्, बाँकी उपकरण र सामग्री एक हप्ताभित्र काठमाडौँ आइपुग्नेछन् ।
उहाँले भन्नुभयो, “पहिलो चरणमा नमुनाका रूपमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् । यो योजनाको सफलता र मूल्याङ्कनपछि प्राधिकरणबाट अन्य क्षेत्रका विद्युत्का तारहरूलाई भूमिगत गरिने छ ।” रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा जोडिएका प्राधिकरणका ९० हजार ग्राहक लाइन रहेका छन् । उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

सडक खन्नु पर्दैन
तारहरूलाई भूमिगत गर्नका लागि मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ ।
यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबरसमेत बिछ्याउने जानकारी दिनुभयो । अप्टिकल फाइबर बिछ्याइसकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।

नियन्त्रण कक्षबाट ‘नियन्त्रण’
तारहरू भूमिगत भइसकेपछि एउटा वितरण केन्द्रका तारहरूको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट गरिने जानकारी प्रवक्ता अधिकारीले दिनुभयो । वितरण लाइनमा कहाँ कस्तो समस्या आयो, त्यसको जानकारी नियन्त्रण कक्षमा कम्प्युटरबाट थाहा पाइने उहाँले बताउनुभयो ।
वितरण प्रणालीमा कहीँ केही समस्या आयो भने नियन्त्रण कक्षमा बत्ती बल्ने, घण्टी बज्ने भएकाले समयमा नै समस्याको समाधान गरिने तथा नियन्त्रण कक्षबाट नै ‘मेन्टिनेन्स टिम’ परिचालन हुने भएकाले जनशक्ति र लागतमा समेत उल्लेखनीय कमी आउने विश्वास प्राधिकरणको रहेको उहाँले बताउनुभयो ।

जीपीएस र रेडियो फ्रिक्वेन्सी जडान
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत सङ्कलन गर्नेछ । त्यसैगरी ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् ।
स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । केन्द्रले सोही सूचनाका आधारमा तुरुन्तै अपरेट गर्नेछ । त्यसैगरी तार भूमिगत भइसकेपछि हरेक ग्राहकलाई ‘स्मार्ट मिटर’ जडान गर्नुका साथै ‘स्मार्ट ग्रिड’ विकास गरिने जानकारीसमेत प्रवक्ता अधिकारीले दिनुभयो ।
विद्युत् प्रसारणको भूमिगत प्रणाली सुरु भए पनि एक वर्षसम्मको ‘टेस्ट फेज पिरियड’सम्म अहिलेको ‘ओभरहेड’ प्रणालीलाई कायम नै राखिने स्पष्ट पार्दै उहाँले एक वर्षको सफलता र अनुभवपछि मात्र ‘ओभरहेड’ प्रणालीलाई पूर्णरूपमा विस्थापित गरिने जानकारीसमेत दिनुभयो ।
अहिलेको ‘ओभरहेड’ विद्युत् प्रणालीका कारण प्राधिकरणको क्षमता अभिवृद्धि, विभिन्न पूर्वाधार निर्माणमा समेत समस्या हुनुका साथै सहर कुरूप र असुरक्षित बन्दै गएकाले समेत विद्युत्का तारहरूलाई भूमिगत गर्न लागिएको प्रवक्ता अधिकारीले बताउनुभयो । विशेषगरी सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युतीय तारलाई भूमिगत गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो ।
रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्नका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको केईआई इन्डस्ट्रिज, इन्डियाबीच मार्च २५, २०१९ मा ठेक्कापट्टा सम्झौता सम्पन्न भई अप्रिल २५ देखि ठेक्का सम्झौता ‘इफेक्टिभ’ भएको थियो । यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।


Your Views
Related News