नेपाली पात्रो अनुसार यस बर्षको बुद्ध जयन्ती जेठ ४ गते शनिबार आज परेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । यसै बीच २६४३ औं बुद्ध जन्म उत्सव तीन दिवसीय कार्यक्रम अहिंसा तथा शान्तिको कामनासहित मनाइने भएको छ ।

अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहार तिलोत्तमा–४ डिङ्गरनगरको आयोजनामा हुने कार्यक्रम मा जेठ ४ गते शान्तिदीप प्रज्वलन तथा दिवस मूल समारोहको आयोजना गरिने अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहारका महासचिव यमबहादुर थापाले जानकारी दिए ।

जन्म, मृत्यु र ज्ञान प्राप्त एकै दिन वैशाख शुक्ल पूर्णिमा भएकाले २६४३ औं बुद्ध जन्मउत्सव, २६०८ औं बोधी ज्ञान लाभ तथा २५६३ औं महापरिनिर्वाण दिवस एकै दिन मनाउन लागिएको हो ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्कृका थिए ।

ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष ९पीपलको रुख० मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।

गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।
यो पनि पढ्नुहोस्
बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध धर्म शायद आजको स्थानसम्म आइपुग्दैनथ्यो होला । धेरैलाई थाहा नहोला– कपिलवस्तुका पाँच ब्राह्मण नै बुद्ध धर्मका प्रथम भिक्षुहरू थिए ।

कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए । असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए । ऋषिलाई ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बालकलाई उल्टै ऋषिले ढोगे । बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि रोए ।

हाँस्नुको कारण थियो– पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ । ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन । असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए । पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो ।

बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष ब्राह्मणहरू भेला भएका थिए । तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे ।

तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए । गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै । राजकुमार सिद्धार्थले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए । राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे ।

बुद्ध धर्मको प्रवर्धन गरेर नेपाललाई विश्वका शान्तिपे्रमीहरूको गन्तव्यस्थल बनाउन यो देशका बाहुन, क्षत्री, दलित, जनजाति, मधेशी सबैले मुदिता चित्तले श्रद्धापूर्वक योगदान दिनुपर्छ ।

सिद्धार्थले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गर्दा ती पाँच ब्राह्मण सारनाथमा बसेका थिए । बुद्धले तिनैलाई पहिलो उपदेश दिएकाले उनीहरू नै बुद्धधर्मका प्रथम भिक्षुहरू हुन् । बुद्ध धर्मका प्रथम दुई सूत्र धर्मचक्रप्रवर्तन र अनात्मलक्षण तीनै पाँच ब्राह्मणलाई देशना गर्दा स्थापित भएका हुन् । धर्मचक्रप्रवर्तन सूत्रको उपदेशको आधारमा नै बुद्ध धर्मलाई चार आर्य सत्य र आठ आर्य मार्ग निर्दिष्ट गरिएको मध्यम मार्ग भनिएको हो ।

अनात्मलक्षण सूत्रको आधारमा बुद्ध धर्मले ईश्वरवादी आत्मा र नित्यता मान्दैन भनेको हो । बुद्धले देह त्याग्नुअघि भने अनुसार बुद्ध धर्मावलम्बीले दर्शन गर्न योग्य चार तीर्थस्थलमा बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, महापरिनिर्वाण भएको कुशीनगर र पाँच ब्राह्मणलाई पहिलो धर्म देशना गरेको सारनाथ हुन् ।

सिद्धार्थ गौतम बुद्ध बन्ने भविष्यवाणी गर्ने र गृहत्यागपछि साथ लागेर प्रेरणा दिनुबाटै बुद्धको प्रादुर्भाव र विस्तारमा ब्राह्मणहरूको देन स्पष्ट हुन्छ । बुद्ध जन्माउने महान् कार्यमा समाहित प्रथम भिक्षु पाँचै ब्राह्मण कपिलवस्तु अर्थात् आजको नेपालकै थिए । वर्तमान नेपालका ब्राह्मणहरूले यो तथ्यलाई मनन् गर्दै गर्व र जिम्मेवारी ग्रहण गर्नुपर्छ ।

संघ निर्माणमा ब्राह्मण: वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको दुई महिनापछि आषाढ पूर्णिमामा बनारस सारनाथ पुगेका बुद्धले पाँच ब्राह्मणहरूलाई भिक्षु बनाएर संघ निर्माण थालेका थिए । सारनाथको त्यही बसाइमा बुद्धले एक जना महाजनका छोरा यशकुमारसहित ५५ जनालाई पनि भिक्षु बनाए ।

ती भिक्षुलाई बुद्धले ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजनसुखाय लोकानुकम्पाय’ भन्ने वाक्य उद्घोष गरी धर्म प्रचारमा पठाए । त्यसपछि सरासर गया गएका बुद्ध प्रख्यात तीन भाइ जटाधारी ब्राह्मणहरू उरुबेल काश्यप, नदी काश्यप र गया काश्यपसहित १००० शिष्यका साथ बसे । बुद्धले तिनलाई प्रज्ञासँगै हजारौं ऋद्धि (अलौकिक शक्ति) देखाउँदै धर्म देशना गरी प्रदीक्षित बौद्ध भिक्षु बनाए । यसरी शुरुमै १००० ब्राह्मण भिक्षु बनेकाले बुद्ध धर्मको प्रवाह सशक्त हुनपुग्यो ।

राजगृह नगर (तत्कालीन मगधको राजधानी)मा एक दिन कपिलवस्तुका प्रथम पाँच भिक्षुमध्ये सबैभन्दा कान्छो अस्सजि भिक्षाटनमा गएको देख्दा प्रभावित भएका उपतिस्स ब्राह्मण र कोलित ब्राह्मण परिव्राजक (साधु) पनि बुद्धकहाँ गएर सारीपुत्र र मौदगल्याण नामका भिक्षु बने ।

धनी र प्रख्यात परिवारका होनहार सारीपुत्र र मौदगल्याण बुद्ध धर्ममा दीक्षित भएपछि बुद्धका अग्रश्रावक (अग्रपङ्तिका भिक्षु) बने । मौदगल्याण ऋद्धि (अलौकिकता) र सारीपुत्र प्रज्ञा (ज्ञान)तर्फका अग्रश्रावक भिक्षुका रूपमा प्रतिष्ठित भए । बुद्ध बिहारहरूमा बुद्धको प्रतिमाको दायाँ बायाँ उभिएका दुई भिक्षु मूर्तिहरू उनीहरूकै हुन् ।

सारीपुत्र र मौदगल्याणपछि बुद्ध जत्तिकै मर्यादा प्राप्त भिक्षु महाकाश्यप पनि धेरै धनी ब्राह्मण परिवारका थिए । धुताङ्गधारीहरूमा श्रेष्ठ महाकाश्यप बुद्ध जस्तै रुप र तेज भएकाले कतिपय मानिस झुक्किन्थे पनि । एकपटक बुद्धले महाकाश्यपसँग चीवर (बस्त्र) साटेका थिए । बुद्धको महापरिनिर्वाण हुँदा महाकाश्यपले नै दागबत्ती दिएका थिए ।

महाकाश्यप बुद्धका उत्तराधिकारी जस्तै थिए । बुद्धको परिनिर्वाण भएको दुई महिनापछि राजगिरको सप्तपर्णि गुफामा मगध नरेश अजातशत्रुको संरक्षकत्वमा भएको शीर्षस्थ ५०० अरहत (मोक्षप्राप्त) भिक्षु सहभागी प्रथम धर्मसंगायना (धर्मसभा)को अध्यक्षता महाकाश्यपले गरेका थिए ।


Your Views
Related News