काठमाडौं , भुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी ‘गोल्ड मेडलिस्ट’ भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए। चान्सलर पदकसहित त्रिवि प्राध्यापक संघ स्वर्ण र रामप्रसाद मानन्धर स्वर्ण गरी तीन पुरस्कार पाउनेमा विराटनगरका उमेश आचार्य एक हुन्। नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर उमेशले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर तह ‘टप’ गरेका हुन्।

दीक्षान्त समारोहकै ठूलो पुरस्कार चान्सलर पदक त्रिविमै सबभन्दा धेरै अंक ल्याउनेलाई दिइन्छ। तीन स्वर्ण पाउने अर्का विद्यार्थी हुन्, विद्यमान महतारा। उनी अर्थशास्त्र संकायमा उत्कृष्ट भएका हुन्। उनले खगेन्द्रमानसिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाए। हामीले यिनै ‘टपर’ विद्यमानका तीन पदकको यात्राबारे कुराकानी गरेका छौं, जो कुनै बेला डोल्पा पाखाका भेडा गोठाला थिए। ‘हुने बिरूवाको चिल्लो पात’ भनेजस्तै विद्यमानको सफलता सानैदेखि अपेक्षित होइन। उनी औसत विद्यार्थी हुन्, अझ कुनै समय त पढ्नै मन नलागेर छाडेका!

चार महिना हिउँ पर्ने डोल्पाको रिनी गाउँमा जन्मेका विद्यमान घरमा होइन, भेडीगोठमा हुर्के। भेडासँगै बढे। गाउँमा स्कुल थियो तर उनी बस्ने गोठबाट स्कुल पुग्न दुई घन्टा उकालो हिँड्नुपर्थ्यो। ‘जाँदा दुई घन्टा लाग्थ्यो, आउँदा ओरालो भएकाले एक घन्टामै झरिन्थ्यो,’ दीक्षान्त समारोहपछि उनले आफ्ना स्कुले दिन सम्झे, ‘मैले त कपुरी क कालोपाटीमा लेखेर सिकेको।’उनले कालोपाटीको वर्णन गर्न थाले, ‘चारपाटे पातलो काठ हुन्थ्यो। त्यसमा बाबाहरूले कालो मोसो दलिदिनुहुन्थ्यो। सुकेपछि तेल दलिन्थ्यो। त्यसमा खरानी हाल्थ्यौं र हल्लाएर फाल्थ्यौं।

कालोमोसो हालेको त्यो काठमा खरानी टाँसिन्थ्यो। हामी बाँसको सिन्काले त्यसमा क लेख्थ्यौं।’ पाँच कक्षासम्म पढाइ हुने त्यो स्कुलमा १ कक्षामा १३ जना विद्यार्थी थिए। उनका अनुसार त्यो बेला उनीहरू स्कुल कम र सिकार खेल्न धेरै जान्थे। उनीहरूलाई नेपालको राष्ट्रिय चरा डाँफे भन्ने पनि थाहा थिएन। विद्यमानले डाँफे मारे पनि रे। ‘डाँफे मात्रै होइन, त्यो बेला डोल्पामा पाइने धेरै चरा मारियो,’ उनले डोल्पाको जीवनशैली बताए। ठूला जनावार मार्न भने उनीहरूको आँट पुग्थेन। गाउँलेसँग मिलेर सिकार खेल्न हुल बाँधेर जाँदा आफूले केही नगरे पनि भागमा मासु पर्दा उनी दंग हुन्थे रे।

सिकारमा मन रमाए पनि उनका बुबाको डरले कहिलेकाहीँ स्कुल भने जान्थे। यसरी पढाइ अघि बढ्दै थियो। एक समय उनलाई पढ्न मनै लागेन। सोचे, अब पढाइ होइन भेडा पाल्नुपर्छ। उनी भन्छन्, ‘पढ्नभन्दा भेडा पाल्दा ठीक हुन्छ जस्तो लाग्यो र बाबालाई निकै साहसले म भेडा पाल्छु भनेँ।’ उनको परिवारले ३० वटा भेडा पाल्थ्यो। हेर्ने मान्छे भएपछि बुबाले भेडा थपे र ९० वटा पुर्‍याए। भेडासँगै उनीहरूका गाई पनि थिए। उनी ९ वर्षका मात्र थिए। बिहेको प्रस्ताव आयो।उनी सम्झिन्छन्, ‘मलाई पढाइ र बिहेभन्दा भेडा धेरै बनाउने नै ध्याउन्न थियो।

त्यसैले बिहे गरिनँ।’ विद्यमान भेडा बढाउँदै लैजाने सोचिरहन्थे। तर हरेक साता भेडा घट्थे। भेडा लिएर परपर जानुपर्थ्यो। कहिले बाघले खाने, कहिले हराउने। एकपटक ४ वटा भेडा हराए। त्यही घटनाले उनको जिन्दगीमा ‘युटर्न’ ल्यायो। ‘त्यसअघि पनि भेडा हराउँदा बाबाले गाली गर्नुभएको थियो,’ उनले सम्झे। चारवटा हराएपछिको गालीभन्दा त पढ्न सजिलो होला भन्ने भयो। अनि उनी भेडा हेर्न छाडेर अक्षर हेर्न थाले।त्यही बेला उनका दाइ उनलाई लिन घर पुगे। दाइले जुम्ला पुगेर एउटा परीक्षा दिन भने। दुई दिन हिँडेर जुम्ला पुगेर परीक्षा दिए।

तर केको परीक्षा दिएँ भन्ने उनलाई थाहा थिएन। परीक्षाको दुई महिनापछि गाउँका काकाले खुसीको खबर सुनाए। उनले बुढानीलकण्ठ स्कुलमा पढ्न प्रवेश परीक्षा दिएका रहेछन्। तीन सयभन्दा बढीले दिएको परीक्षामा त्यहीँका अरू दुई जनासँगै उनको पनि नाम निस्कियो।बुढानीलकण्ठले त्यो बेला देशभरिका गाउँबाट मेहनती विद्यार्थीलाई काठमाडौंमा पढ्ने अवसर दिने गरेको थियो। उनले त्यो मौका पाए। बुढानीलकण्ठमा ४ कक्षाबाट पढ्न थाले। पढाइ सुरू भएको एक साता नबित्दै परीक्षा भयो। पहिलो परीक्षा थियो, विज्ञान।

ठूलो कोठा र धेरै विद्यार्थी भएको कक्षाको कालोपाटीमा लेखिएका प्रश्न उनले बुझेनन्। उनलाई त्यतिखेर अंग्रेजीमा ‘ए-बी-सी’ मात्रै आउँथ्यो। विज्ञानमा आएको ‘सजीव र निर्जीव’ को अंग्रेजी प्रश्न कसरी बुझून्! वरिपरिका साथी कलम समातेर लेख्न सुरू गरे। सानो कालोपाटीमा लेख्दै सिकेका उनलाई कलम समातेर लेख्ने आँटै आएन। उनी रोए।’रोएपछि मिस मेरो आडैमा आउनुभयो र किन रोएको भनेर सोध्नुभयो। मैले प्रश्न नबुझेको भनेपछि उहाँले बुझाइदिनुभयो। उत्तर लेखेँ। सबैले अंग्रेजीमा लेखेको त्यो प्रश्नको उत्तर मैले नेपालीमै लेखेँ र १५ मा १० ल्याएँ,’ उनले सम्झे।

चार कक्षाका दुइटै आन्तरिक परीक्षामा अंग्रेजीमा फेल भए। अन्तिम परीक्षा भने पास गरे। पाँच कक्षामा उनलाई अंग्रेजीले फेरि रुवायो। कक्षामा ‘क्याप्टेन’ हुन्थ्यो। एकपटक क्याप्टेनले विद्यामानलाई रोके र भने, ‘ब्रिङ द्याट ब्रुम।”मैले बुझिनँ। भुइँमा हेरेँ,पानी पोखि एको थियो। मैले सोचेँ दाइले मैले पानी पोखेँ भनेर गाली गरेको हो। क्याप्टेनले फेरि दोहोर्‍याए। तेस्रोपटक चर्काे स्वरले त्यही कुरा भनेपछि मैले थाम्न सकिनँ। रोएँ,’उनले भने। क्याप्टेनले सोधे,’किन रोएको?’उनले भने, ‘तपाईंले गाली गरेको जस्तो लाग्यो।’दाइले भने, ‘नरो लाटा, मैले तलाईं कुचो ल्या पो भनेको।’

यस्ता क्षण धेरै हुन्थे। बुढानीलकण्ठ पढ्ने बेलासम्म उनी औसत विद्यार्थी थिए। तीन सय जनामा ४० औं श्रेणी आउने। यहीबीच उनको अर्काे गुण विकास हुँदै थियो- नेतृत्व गर्ने। ‘मलाई लाग्छ मसँग नेतृत्व गर्न सक्ने खुबी छ। त्यो बेला म टिम लिड गर्थेँ। मेरो खेलकुद निकै राम्रो भएकाले पनि नेतृत्व गर्न पाएँ,’ उनले भने।पढाइ औसत भए पनि उनलाई खेलकुदले फाइदा भयो। १२ कक्षासम्म बुढानीलकण्ठ पढ्दा लामो दुरीको दौडमा उनी कहिल्यै दोस्रो नभएको बताउँछन्। एक किलोमिटरभन्दा बढीको दौडमा उनी सधैँ प्रथम।

त्योबाहेक फुटबल टिममा उनी पर्थे। भलिबल पनि राम्रै थियो। बास्केटबल र पौडीमा पनि राम्रो गरेको उनी सुनाउँछन्। ‘म राम्रो कुद्छु पनि। कुदेरै धेरै पुरस्कार पाएको छु,’ उनले भने। स्कुल छँदै उनी तत्कालीन वीरेन्द्र रनिङसिल्ड प्रतियोगितामा छनौट भएका थिए। राष्ट्रिय धावकबाट तालिम पनि पाएको उनी बताउँछन्। तर उनले भाग लिने वर्षदेखि प्रतियोगिता रोकियो। ‘अहिलेसम्म सुरू भएको छैन,’ उनले सम्झिए, ‘त्यो बेला दौडिन पाएको भए म खेल क्षेत्रमै हुन्थेँ होला।’ खेलको आत्मविश्वासँगै पढाइ पनि राम्रै भयो। बुढानीलकण्ठबाट विशिष्ट श्रेणीमा एसएलसी पास गरे।

एसएलसीपछि बुढानीलकण्ठमै ‘ए लेभल’का लागि छात्रवृत्ति पाए। दुई वर्ष ‘ए लेभल’ पढ्दा नै हो उनले अर्थशास्त्रबारे पहिलोपटक थाहा पाएको। उनी भन्छन्, ‘मलाई फिजिक्स पढ्न मन लाग्थ्यो, हिसाब पनि ठिकै लाग्थ्यो। तर बायोलोजी पढ्न मन नलागेर सट्टामा अर्थशास्त्र पढेँ।’ पछि उनलाई पढ्न विदेश जाने भूत चढ्यो। बुढानीलकण्ठबाट निस्केर मनमैंजुमा साथीहरूसँग डेरा लिएर बस्न थाले। साथीहरूसँगै विदेश जाने तयारी पनि गरे।’तर पूरा छात्रवृत्ति पाइनँ। पैसा तिरेर जानसक्ने कुरा भएन,’ उनले भने।दुई वर्षपछि बेलायतबाट ‘इन्टरनेसनल ब्याकलाउरेट (आइबी)’ पढाइका लागि छात्रवृत्ति पाए।

आइबीमा व्यावहारिक शिक्षा पढाइ हुन्थ्यो। उनी पास भए। जान भने पाएनन्। त्यहाँ जान १९ वर्ष नकटेको हुनुपर्ने थियो, उनी २ महिना बढी भए। यसले उनलाई ‘डिप्रेसन’ नै भएको बताए। ‘त्यो छात्रवृत्तिमा पढ्न पाएको भए अझै सफलता पाउँथे होला नि,’ उनलाई लाग्छ। ‘मैल नेपालमै पढ्ने निधो गरेँ।’ त्यति बेला काठमाडौं विश्वविद्यालय अन्तर्गतको बालुवाटारस्थित नेसनल कलेजमा विकास अध्ययन (डेभलपमेन्ट स्टडिज) पढ्न थाले। दोस्रो सेमेस्टरमा प्रथम हुँदै उनी पहिलोपटक पढाइमा अब्बल भए। ‘कक्षामै पहिलो भएको त्यो नै पहिलो हो,’ उनले भने।

आठ सेमेस्टरको पढाइमा पहिलोबाहेक सबै सेमेस्टर टप गरे विद्यमानले। काठमाडौं विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ पाए। त्यसपछि उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालय आए। अर्थशास्त्र केन्द्रीय विभागमा भर्ना हुँदा सेमेस्टर प्रणाली सुरू भइसकेको थियो। उनी त्यहाँ पनि पहिलो सेमेस्टरबाहेक पछिका तीन वटामा टप गर्दै ‘गोल्ड मेडलिस्ट’ भए। दीक्षान्त समारोहमा तीन वटा ‘गोल्ड मेडल’ थाप्दा प्रसन्न देखिएका विद्यमानले भने, ‘म कहिल्यै जित्नका लागि पढ्दिनँ। टपर हुने भनेरै पढेको थिइनँ। मेरो पढाइ त औसत थियो। पढ्ने तरिका फरक भएकाले नै टप गरेँजस्तो लाग्छ।’आफैं पढ्नुभन्दा अरूलाई पढाउँदा धेरै बुझिने उनको अनुभव छ।

‘मलाई अरूलाई सिकाउन मनपर्छ। मैले धेरैलाई पढाएँ। साथीहरूलाई सिकाउँदा आफूले तयारी गरिन्थ्यो। बुझाउन सकिएन भने पछि शिक्षकलाई सोध्थेँ। यसले आफूलाई पनि बुझ्न सहयोग गर्याे,’ उनी भन्छन्। विद्यमान नेपाल राष्ट्र बैंकका जागिरे हुन्। कीर्तिपुरमा स्नातकोत्तर पढ्दै लोकसेवामार्फत् बैंकमा नाम निकालेका थिए।भन्छन्, ‘लोकसेवा पढ्ने साथीहरूले भनेर सरकारी सेवामा प्रयास गरेको थिएँ। तयारीको पहिलो वर्षमै चार ठाउँ फारम भरेँ। नेपाल बैंक लिमिटेड र राष्ट्र बैंकमा सहायक निर्देशकमा नाम निस्कियो। राष्ट्र बैंकमा नियुक्त भएँ।’विद्यमान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा काम गर्छन्। सेतोपाटी बाट


Your Views
Related News