काठमाडौं । ठूलो भरोसा र आशा गरिएका प्रधानमन्त्रीमा पर्छन्, केपी शर्मा ओली । उनी भ्र’ष्टाचा’री, घुसखोरी, ठ’गी, अपराधिविरुद्ध र जनताको पक्षमा मिठो र आशा लाग्दो भाषण गर्छन् । सबैजनाले उनको भाषणप्रति विश्वास गरेका छन् ।
उनी नेतृत्वको पार्टी नेकपाले अहिले इतिहासकै शक्तिशाली सरकारको नेतृत्व लिइरहेको छ । बहुमतसहितको सरकार चलाएका प्रधानमन्त्री ओलीप्रति जनताको आशा र भरोसामा हुनु स्वभाविकै हो । तर, जनताको आशा र भरोसप्रति प्रधानमन्त्री ओलीले निर्वाह गर्ने भूमिकाबारे केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको दुई किसानको तस्विरले प्रष्ट पारिरहेको छ ।

यी दुई तस्विरले सारा नेपालीको मन दुख्यो । प्रधानमन्त्री ओलीलाई यी तस्विरले छोयो कि छोएन, तर जनताले उनीमाथि गरेको भरोसा र विश्वासमा भने ह्रास आयो । चार वर्षदेखिको उखुको करिब साढे एक अर्ब रुपैयाँ चिनी मिलले नदिएपछि ऋणमा डुबेका किसान न्याय खोज्न काठमाडौंमा आएका छन् ।

काठमाडौंको चिसो सडकमै सुतेर न्याय मागेका ति किसानको आँखाबाट खसेको आँशुले प्रधानमन्त्रीदेखि नेतासम्म, प्रशासनदेखि प्रहरीसम्मलाई छोयो कि छोएन, तर आम सर्वसाधारण नेपालीको मन भने दुख्यो । मनमनै रोए, गणतन्त्रको उपलब्धी यही हो भन्ने अनुमान गरे । शहीदको बलिदानी शासकको शासन फेर्न होइन शासकमा पात्र फेर्नका लागि रैछ भन्ने जनताले अड्कल काटे ।

नेता र मन्त्रीलाई आवश्यक पर्दा कानुन रातारात बनाइन्छ, तर जनताको पैसा ठग्ने उद्योगी पक्राउ पर्दैनन् । स्थानीय र प्रादेशिक सरकारबाट न्याय नपाएपछि केन्द्र सरकारसँग गुहार माग्न आएका रौतहट र सर्लाहीका किसानलाई प्रधानमन्त्री ओलीले तत्काल उनीहरुलाई भुक्तानी दिलाउन नसक्दा आशा र भरोसा भाँचिएको छ ।

पहिलाकै उखुको पैसा नपाएका किसानको खेतमा अहिले लगाइएको उखु पनि सुकेर जान लागेको छ । अनाहकमा उद्योगीबाट पाएको सास्ती व्यहोर्नु परेका किसानलाई न्याय दिन नसक्ने तीन तहकै सरकारले मुलुकको विकासमा आधुनिक कृषिको कुरा गर्नु भाषण सिवाय अरु के हुन सक्ला र ।
जनताको नाममा राजनीति गरेका नेताहरुले जनताको रगत पसिना चुस्ने ती उद्योगी र व्यवसायीलाई पक्राउ गरेर कारबाही गर्ने हिम्मत देखाउन सकेका छैनन् ।

एक हप्तादेखि दैनिकजसो काठमाडौंको सडकमा उत्रिएर न्याय माग्दा किसानको आँखाबाट झरेको आँशुलाई नाटकीय नठानियोस् । मुलुकमा बहुसंख्यक किसान छन्, उनीहरु सबै सडकमा उत्रिए उद्योगीको दिनमात्रै होइन, नेताहरुको शासन पनि समाप्त हुन सक्ने तर्फ मन्त्री र जिम्मेवार नेताहरुले बेलैमा सोच्नु पर्ला ।


Your Views
Related News