काठमाडौंको विभिन्न स्थानमा ‘सिरिञ्ज आतंक’ मच्चाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । महिलामाथि काँटीले आक्रमण गरेको आरोपमा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।
प्रहरीले कार्कीको बा४७प १३३१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । ५ बर्ष दुबईको बैदेशिक रोजगारीमा बसेर फर्केका कार्की महाराजगञ्जमा फास्टफूड रेस्टुरेन्ट सञ्चालन गर्दै आएको खुलेको छ ।राति १० बजे रेस्टुरेन्ट बन्द गरी सोह्रखुट्टे, टंकेश्वर, कालीमाटी हुँदै नैकाप फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई रमाइलोका लागि ढलान किलाले घोप्दै हिँडेको कार्कीले स्वीकारेको प्रहरीले जानकारी दिएको छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समययता राजधानीमा आधा दर्जनभन्दा बढी महिला तथा युवतीमाथि यस किसिमको आक्रमण भएको थियो ।एचआईभी सार्नका लागि सिरिञ्ज प्रहार गरेको भन्दै आतंक फैलिएको थियो । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकालगायत आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएको भन्दै सतर्कता अपनाउन भनिएको थियो। यसरी आक्रमणमा परेका केही महिलाले त एचआईभीको आकस्मिक उपचार समेत लिइरहेका छन् ।


Your Views
Related News