उपेन्द्र यादवलाई जेल हाल्न सिके राउतको माग
नेपालगन्ज -: सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपाललाई गद्धार घोषणा गर्दै यी दुई पार्टी बिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।जनमत पार्टी स्थापना हुनअघि भूमिगत रुपमा गतिविधि संचालन गर्दा केन्द्रीय प्रवक्ता रहेका केन्द्रीय नेता अब्दुल खानले पत्रकार सम्मेलनमा राजपा र समाजवादी पार्टी्विरुद्ध गाउँगाउँमा भण्डाफोर गर्नुका साथै बहिष्कारको अभियान चलाउने बताए ।

पार्टीका दृष्टिकोण सार्वजनिक गर्न बाँकेमा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज ईरफान शेषले रौतहट र बाँकेका रामनोहर काण्डमा समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री उपेन्द्र यादवलाई जेल हाल्नुपर्ने बताएका छन् ।जनमत पार्टीले ‘मधेसी जनताको मूल आधार, राजपा, समाजवादीको बहिष्कार’ भन्ने नारा नै तय गरेर अगाडी बढेको नेता खानले बताए । उनले राष्ट्रियसभाको निर्वाचनमा राजपा नेपालले नेकपासँग सँम्झौता गर्नु र समाजवादी पार्टीले कांग्रेससँग गरेको सम्झौताप्रति आपत्ति जनाए ।

खानले भने –यी सम्झौताले मधेसी जनताप्रति गद्धारी भएको छ । उनीहरु मधेसी जनताका लागि गद्धार सावित भएका छन् । त्यसैले यी दुबै पार्टीलाई जनमत पार्टीले बहिस्कार गर्दै भण्डाफोर अभियान शुरु गरेको छ ।अहिले आएर नेकपा र कांगे्रेससँग सम्झौता गर्नु थियो भने विगतमा यी पार्टीविरुद्ध किन घृणा फैलाएको भन्ने प्रश्नको जनमत पार्टीले राजपा नेपाल र समाजवादी पार्टीसँग जबाफ माग गरेको छ ।

नेता खानले भने– ‘मधेसीको हकहितका लागि भनेर लडाउने काम गरे, उनीहरुले त्यो सबै पद र कुर्सीका लागि गरेका रहेछन, हामी यसको गाउँगाउँमा भण्डाफोर र बहिष्कार गर्छौ । मधेसी र पहाडीका बीचमा दुश्मनी पैदा गराइयो । त्यो सबै आफ्नो कुर्सीका लागि रहेछ |


Your Views
Related News