काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक राख्न नेतृत्वले आलटाल गरेको छ ।
पार्टी एकताको १९ महिना बितिसक्दा पनि केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन। एकीकरण घोषणाका बेला बालुवाटारमा पुगेर हाजिरी मात्रै जनाएका ४४१ जना केन्द्रीय सदस्य अहिलेसम्म बैठकमा सहभागी हुन पाएका छैनन्।
गत मंसिर २९ गतेदेखि एक सातासम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक पुस २३ गते डाकेको थियो।तर उक्त बैठक पनि अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन लेख्न र राष्ट्रियसभाको निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारियो ।
बैठक नराखेको भन्दै नेतृत्वप्रति केन्द्रीय सदस्यले पटकपटक असन्तुष्टि जनाउँदै आएका छन् । बल्लतल्ल तोकिएको बैठक पनि नेतृत्वले छल्न खोजेको भन्दै विरोध हुँदै आएको छ । ठूलो संख्याको केन्द्रीय कमिटीमा विवाद आउने भएकाले पनि बैठक राख्न ढिलाई गरेको कतिपय सदस्यको बुझाइ छ।
अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर पछिल्लो समय नेकपाभित्र चर्को विवाद र अन्योल छ । नेकपाका दुई अध्यक्षमध्ये केपी शर्मा ओली एमसीसी नेपालमा लागू गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागू गर्न नहुने पक्षमा । प्रचण्डसँगै माधवकुमार नेपाल पक्षधर केही प्रभावशाली नेताले नै एमसीसीको ठाडो विरोध गर्दै आएका छन् ।
यसैबीच केन्द्रीय कमिटी बैठक राखेमा चर्को विवाद हुने डरले पनि नेतृत्वले बैठक सारेको केन्द्रीय सदस्यको बुझाई छ । बैठक नराख्नु र बल्लतल्ल राखेको बैठक सार्नुमा नेतृत्व दोषी रहेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।
पार्टी नेतृत्व र सरकारको आलोचना हुने भएर केन्द्रीय कमिटी बैठक सरेको खतिवडाको तर्क छ । ‘अहिले भन्नलाई त सजिलै छ, राष्ट्रियसभाको चुनाव लाग्यो भन्न पाएका छन्, अध्यक्षले विरामी छु पनि भन्न मिलेको छ’, खतिवडाले ठट्यौली शैलीमा भने ।
नेतृत्व केन्द्रीय कमिटीको बैठक किन छल्छन् भन्ने प्रश्नमा खतिवडाले भने,‘प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छा भयो, विभिन्न घटनाको सामाना गर्न नसक्ने भए । यति ग्रुपलाई भाडामा दिएको जग्गा, एमसीसी, सरकारले गरेको विभिन्न नियुक्ति र सरकारको काम कारवाहीबारे कुरा उठ्ने भएकाले बैठक सर्यो।’
घट्नाक्रमको उत्तर खोज्न त ओली कमरेडले २/३ दिनमै नसक्ने भए, १०/१५ दिन नैतिक बल लगाएर उत्तर खोज्न बैठक सारियो उनले भने । ‘अध्यक्षलाई थाहा छ बोल्न दियो भने अप्ठ्यारो पार्छन् भन्ने कुरा । अध्यक्ष ओलीको अहंकारले सत्यता स्वीकार्न सक्दैन’, उनले थपे, ‘मैले गरेको काममा कसैले केही भन्न पाइँदैन भन्ने ओली कमरेडको अलि घमण्ड छ ।’
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको पनि खतिवडाको जस्तै धारणा छ । पार्टी नेतृत्वले सकेसम्म केन्द्रीय कमिटी बैठक गर्न नपाए हुन्थ्यो भन्नेमा रहेको न्यौपानेको भनाइ छ । पार्टी नेतृत्वको काम र सरकारले गरेको कामको आलोचना धेरै हुने भएर बैठक नराखेको न्यौपानेले बताए ।
‘पार्टीको विधान संशोधन गर्नुपर्ने छ । संरचनात्मक संशोधन गर्नुपर्नेछ । उपत्यका विशेष प्रदेश कमिटी विधानमा छैन । तर त्यसले काम सुरु गरिसकेकाले विधान संशोधन गरेर समेट्नुपर्नेछ’, न्यौपानेले भने।
नेता न्यौपानेले विधान संशोधन केन्द्रीय कमिटीले गर्नुपर्ने भएकाले मात्रै बैठक तोकिएको बताए । ‘अबको बैठकमा सरकारको काम, संगठन र राजनीति विषयमा छलफल हुनेमा शंका छ’, उनले भने ।
न्यौपानेका अनुसार पार्टी नेतृत्व सकेसम्म केन्द्रीय सदस्यको फेस गर्न नपाए हुन्थ्यो भन्नेमा छ । उनी अघि भन्छन्, ‘विश्वमा कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सबैभन्दा शक्तिशाली हुन्छ तर हाम्रोमा निकम्मा भयो । खास त पार्टीले सरकार चलाउने हो तर हामीकहाँ सरकारले पार्टी चलाउँछ ।’
केन्द्रीय कमिटी बैठक राख्न माग गर्दै करिब एक वर्षअघि नेकपाका ९ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई सम्बोधन गरेर महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।
केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, प्रेम खनाल, ठाकुर गैरे, विश्वनाथ प्याकुरेल, माधव अर्याल, हरि राई, रामकुमारी झाँक्री र जयन्ती राईले केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यको नेकपा केन्द्रीय कमिटी छ । स्थायी समितिमा ४५ सदस्य छन् भने सचिवालय ९ सदस्यीय छ। पोलिटब्यूरो भने अझै गठन हुन सकेको छैन ।
नेकपाकी अर्की केन्द्रीय सदस्य दिलु पन्त केन्द्रीय कमिटीको बैठक नबस्नुमा नेतृत्वको अल्छिपना देख्छिन्। ‘नेतृत्वले समयमै बैठक राख्नुपर्ने हो, आफ्नो घरभित्र सबै कुरा राख्नुपर्ने थियो तर नेतृत्वको अल्छिपनाले त्यो सम्भव भएन्। अर्को कुरा त आलोचना बढी खेप्नुपर्ने भएकाले पनि बैठक नबसेको हुनसक्छ।’
उनले केन्द्रीय सदस्यले समेत पार्टी निर्णय मिडियामा आएपछि मात्रै थाहा पाउने गुनासोसमेत गरिन् । उनले भनिन्,‘बैठक बसेको भए हामीले थाहा पाउँथ्यौं तर बैठक नै नबसेर यो स्थिति आएको हो।’ बैठक सारेको कुरासमेत मिडियाबाट थाहा पाएको उनले बताइन्।