चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ लाई हस्तान्तरण गरेका हुन् ।

क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका पहिलो स्थानीय तह बनेको छ । सोमबार मात्रै रंगशालाको अवलोकन गर्न पुगेका महतले तत्कालै निर्णय गराएर रकम दिएका थिए ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ र उपाध्यक्ष कुन्जना घिमिरे ‘सुन्तली’ ले हेटौंडा उपमहानगरपालिका रंगशाला बनाउन आर्थिक सहयोग गर्ने पहिलो स्थानीय तह बनेको भन्दैं महानगरपालिका र हेटौडा नगरवासीलाई धन्यवाद दिएका थिए ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक जिल्लाको प्रतिनिधित्व हुने गरी रंगशालाका कक्षहरु बनाइने हुँदा सबै जिल्लाका नागरिक, संघसंस्था र स्थानीय तहको सहयोग आवश्यक पर्ने बताएका छन् । रंगशाला बनाउन भरतपुर महानगरपालिकाले ६ करोड ५० लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ ।

यो रकम दिने प्रक्रिया अघि बढेको महानगरले जनाएको छ । यस्तैं प्रदेश ३ सरकारले रंगशालाका लागि ५ करोड रुपैयाँ रकम दिने घोषणा गरेको छ । घोषणा गरेको रकम भरतपुर महानगरपालिकाको खातामा पठाएको छ । चितवनका अन्य स्थानीय तहले भने अहिलेसम्म रकम दिने घोषणा गरेका छैनन् ।


Your Views
Related News