काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्ने आफ्नो अडान दोहो¥याउनु भएको छ ।

नेकपा केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सैन्य रणनीति र इण्डो प्यासिफिक रणनीतिसँग कुनै सरोकार नभएको भन्दै कुप्रचार भएको बताउनुभएको हो ।

४९ देशले एमसीसी सम्झौता गरेको बताउँदै बेकारमा इण्डो प्यासेफिक रणनीतिसँग जोडिएकोमा गुनासो समेत गर्नुभयो । एमससी छिटो संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै उहाँले हाम्रो सार्वभौमसत्तालाई यस सहमतिले कुनै असर नगर्ने बताउनुभयो ।

बैठकमा सरकारको काम प्रभावकारी नभएको भन्दै स्वयं नेकपाका सदस्यले असन्तुष्टि पोखेको समयमा ओलीले केन्द्रीय कमिटीमा हुनसक्ने सम्भावित आलोचनाबाट बच्न शुरूमै कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

उहाँले सरकारका तर्फबाट जनतामा पर्याप्त प्रचार र सम्प्रेषण नहुँदा सरकारविरुद्ध प्रचार भइरहेको गुनासो समेत गर्नुभयो ।

सरकारका कामको फेहरिस्त प्रस्तुत गर्दै उहाँले विभिन्न सूचकांकलाई उद्धृत गर्दै सुधार भइरहेको दाबी समेत गर्नुभयो । विधिको शासनको सूचकांक, भ्रष्टाचार मापक सूचकांक, ह्याप्पिनेस इन्डेक्स लगायतका सूचकांकमा नेपालले प्रगति हासिल गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यती होल्डिङ्स कम्पनीसँग नेकपाको मितेरी साइनोजस्तो गरी व्याख्या गरेकोमा असन्तोष जनाउँदै कानूनको परिधिमा रहेर काम गरेको दावी समेत गर्नुभएको थियो ।


Your Views
Related News