काठमाडौं। कोरोना भाइरसको त्रासका कारण ७ हजार जना पानीजहाजमै थुनिनुपरेको छ । बिहीबार इटलीको एउटा क्रुज पानीजहाजबाट राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका उनीहरुलाई पानीजहाजभित्रै थुनिएको हो ।

जहाजमा सवार यात्रुमध्ये एक जनालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई जहाजबाट उत्रिन अनुमति दिइयो ।

जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए । जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो ।

परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन ।कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो ।

शंका गरिएकी बिरामी, ५४ वर्षकी चिनियाँ महिला त्यहीँबाट जहाज चढेकी थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो ।

यहाँ ती महिलालाई फ्लुजस्तै लक्षण देखिएपछि उनलाई उनका पार्टनरसहित क्वारेन्टाइनमा राखिएको थियो ।


Your Views
Related News