चितवन, चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्याचल महोत्सवमा साँढे ६६ लाख भन्दा बढी रकम संकलन भएको छ ।

आइतबारबाट सुरु भएको धनधान्याचल महोत्सवको दोस्रो दिन आज ६६ लाख ५६ हजार १५७ रुपैँया संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साइन्सेसका प्रा डा भीनटराज प्रसादबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिए ।

यस्तै भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १११ रुपैँया सहयोग गरेको उनले बताए। आज नै मूल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेश कुमार र सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको उनले बताए । यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौंका चन्द्र खड्की र रविन्द्र कसजुबाट समान ५\५ लाख प्राप्त भएको छ ।

एनआरएन जापानबाट तीन लाख, होटल व्यवसायी संघ एवम् होटल गंगोत्रीबाट एक लाख ११ हजार १११, कृष्ण घिमिरेबाट एक लाख दुई हजार ६००, भरतपुर ९ का नेत्र प्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशील आमा समूहबाट ३० हजार ३३५ प्राप्त भएको छ ।

यस्तै आज भरतपुर २४ धुर्बकी ९४ वर्षीय खिला कुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।यसैबीच रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्याचल परिसरको १० किलोमिटर वरपर निःशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले जानकारी दिए ।

यस्तै चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले जानकारी दिईन् ।

यस्तै आज चर्चित लोकदोहोरी गायक पशुपति शर्माले संगीतिक प्रस्तुति समेत दिएका थिए । ५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवाचन गरिरहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवमा आज भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

मंगलबारबाट भक्तजनहरुको उपस्थिति र आर्थिक संकलन पनि बढ्ने आयोजकले जनाएको छ । करिब तीन अर्ब लागतमा दुई वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।


Your Views
Related News