काठमाडौं, डेढ महिना लामो विवादपछि चितवनको एसपी सरुवा विवादमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं गलेका छन् । उनले एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । तर, प्रचण्ड परिवारले उनको सरुवालाई अस्वीकार गरेपछि पन्त जान पाइनन् ।अन्ततः महानिरीक्षक खनाल पछि हटेर पन्तको सरुवा संशोधन गर्दै पर्सा पठाएका छन् । चितवनमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ ।

प्रचण्ड परिवारकै सिफारिसमा गुरुङ चितवन सरुवा भएका हुन् । त्यस्तै, बारामा कृष्ण पंगेनीलाई पठाइएको छ ।पर्साका सोमेन्द्रसिंह राठौरलाई महानगरीय अपराध महाशाखामा सरुवा भएको छ । काठमाडौं परिसरका अशोक सिंहको इन्टरपोल शाखामा सरुवा भएको छ । बाराका एसपी विकाराज खनालको दंगा गण, सुनवलमा सरुवा भएको छ ।

यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो । चितवनमा पन्त पठाइन् ।तर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आडमा मल्लले प्रहरी हेडक्वार्टरको आदेश लत्याए ।

प्रचण्डलाई भनेर उनी सरूवा थमौती माग्नतिर लागेपछि विवाद भएको थियो ।प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनुपरेको थियो ।मल्लले प्रदेश प्रहरीको निर्देशन पनि लत्याएका थिए ।

तर, व्यापक दबावपछि २४ घन्टामा रमाना बुझे ।प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा पन्तले फेसबुक कमेन्टमा ‘रिप’ लेखेपछि उनको केही अघि आलोचना भएको थियो । त्यही विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।


Your Views
Related News