काठमाडौं, २७ असार । यति विमान दुर्घटना भएपछि बन्द रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुन: संचालनमा आएको छ । यती एयरलाइन्सको विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान ८ घण्टा लामो ठप्प भएको थियो ।

६६ यात्रु र ३ क्रु मेम्बर सहित नेपालगञ्जबाट आएको यतिको एटिआर–७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यस लगत्तै अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । धावन मार्गदेखि विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले उडान गर्न नमिलेको हो ।

०००

यो पनि

उर्लियो हनुमन्ते खोला, भक्तपुर क्षेत्र डुबान शरु, प्रशासनद्धारा उच्च सतर्कता रहन आग्रह

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ ।

हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ ।

उहाँले भन्नुभयो, “हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छाँै, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।” नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ ।

बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन् । शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा यस वर्ष रु २० लाख विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो ।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो । सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताउनुभयो । उहाँले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताउनुभयो ।

विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य शुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ । मध्यपुर थिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पु¥याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताउनुभयो ।

आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ ।

जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महीनादेखि रोकिएको छ । ––– रासस

०००

यो पनि

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : जिउ र बिउ जोगाउनूस्, देशभर भिषण वर्षा संगै बाढी, पहिरो र डुबानको ठुलो सम्भावना

काठमाण्डु, २७ असार । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।

महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिइन् । उनले भनिन्, , “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ । ” उनले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गरिन् ।

शुक्रबारदेखि पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र महोत्तरी क्षेत्रमा साताको सुरु र मध्यमा सामान्यदेखि पूर्ण बदली रहने र अन्त्यतिर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ । तराई छुने बारा, पर्सा, चितवन, रुपन्देही, बाँके र कैलाली क्षेत्रका केही स्थानमा भारी वर्षा र अन्यमा मध्यम तथा सामान्य वर्षासहित साताभरि वर्षा हुने छ । मध्य र पहाडी क्षेत्रका धनकुटा, सङ्खुवासभा, दोलखा, धादिङ र काभ्रेपालाञ्चोक जिल्लामा पनि साताभर वर्षाको प्रभाव कायम रहने छ ।

पश्चिमतिर कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत र डोटीमा साताको सुरुमा मध्यम र सामान्य वर्षा रहे पनि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ । हिमाली भेगका विभिन्न स्थानमा हिउँ पर्ने र हिउँ पहिरोको सम्भावना रहेको कँडेलले बताइन् । जुम्ला, दार्चुला र मुस्ताङ क्षेत्रमा साताभरि नै मेघ गर्जनसहित वर्षा हुने छ । बिहीबार भारतबाट उत्तरतिर न्यूनचापीय प्रणाली सरेको छ । त्यो रेखा दिल्ली र कोलकाताका बीचमा हुनु पथ्र्यो, त्यतिमात्र हैन भारतको बिहार र उत्तर प्रदेशमा पनि न्यून चापीय क्षेत्र बढेकाले त्यो क्षेत्र छोएका ठाउँमा भारी वर्षा हुने कँडेलको विश्लेषण छ ।

बिहीबारदेखि तीन दिनसम्मको भविष्यवाणीमा भने महाशाखाले देशका अधिकांश स्थानमा पूर्ण बदली भई मध्य, पूर्वका अत्यधिक भूभाग र पश्चिमका केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ । यो साता साना खोलाका बाढी, सडक छेउका डाँडोबाट खस्ने पहिरो र हिलोले बाटो खराब हुने भएकाले सतर्कता अपनाउन कँडेलले आग्रह पनि गरिने । यात्रुहरूलाई सुझाव दिँदै कँडेल भन्छिन्, “बाटोमा बाढी पसेर सडक बिग्रँदा अवरोध हुनसक्छ । मौसमको ख्याल गरेर यात्रा गर्नुपर्छ । बाढी, पहिरो र अन्य विपत्तिबाट जोगिन पूर्वसूचना प्रयोग गर्नुपर्छ । ”
उनले भनेझैँ यो साताको सक्रिय मनसुन कृषि क्षेत्रका लागि पनि अनुकूल र प्रतिकूल दुवै रहने कृषि मौसमविद् रामेश्वर रिमालले बताइन् । उनले भनिन्, “धान रोपिसकेको खेतमा पानीले भरिएको हुँदा भरसक मल र विषादी छर्नु हुन्न । ” उच्च पहाडमा भएका तरकारीका बिरुवालाई भने छाप्रो हालेर जोगाउनुपर्छ । वर्षे तरकारीको बेर्ना हुर्काउने मौसम रहेकाले दर्कने पानीबाट जोगाउन छाप्रो अनिवार्य हाल्न उहाँले किसानलाई सुझाव दिइन् ।
“भर्खरै भित्रिएको चैते धान र मकैको भण्डारणमा ख्याल नगरे कुहिएर खेर जाने अवस्था आउन सक्ने भएकाले हावा खेल्ने गरी राख्नुपर्छ”, उनले भनिन्, “पानी परेकाले ओसिलोपना बढ्छ र ढुसी लाग्ने र कुहिने हुनसक्छ । ” तराईका होचो भूभागमा भने अन्न भण्डारणका लागि घरको माथिल्लो तला वा अग्लो भकारी प्रयोग गरी खाद्यान्न जोगाउन उनले सुझाइन् ।
हालसम्म करिब ३० प्रतिशत धान रोपाइँ भएको छ । उनका अनुसार यस साताको सक्रिय मनसुनका भरमा धान रोपाइँ ५० प्रतिशत हाराहारी पुग्ने छ । गोरखापत्रबाट


Your Views
Related News