काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो काम गरेकोमा कुनै शंका नभएको बताएका छन्। उनले सरकारले जति राम्रो काम गरे पनि जनता सन्तुष्ट नदेखिएको बताए।

प्रचण्डले भने, ‘राम्रो काम भएकोमा शंका छैन। सरकारलाई नम्बर दिनु पर्दा हामी उत्तीर्ण छौं।’ तर, यति हुँदाहुँदै पनि जनता सन्तुष्ट देखिँदैनन्। अहिले संघीय, प्रादेशिक र स्थानीय सरकारलाई व्यवस्थापन गर्न सरकारले राम्रो काम गरेकै छ। यी सबै राम्रा कामका बावजुद जनता कहीँ पनि खुशी नभएको देखिएको बताए।

आफू देशभर घुमिराखेको भन्दै प्रचण्डले स्थानीय तहले, प्रदेशले र संघले लगाएको करले जनताको ढाड भाँच्चिएको भन्ने जनताका गुनासा आएको बताए। व्यवसायीहरू लगानी गर्नुभन्दा पनि अब के गर्ने भनेर बसेको बताउदै उनले आफूले व्यवसायीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दा कोही पनि खुशी नदेखिएको बताए।

सरकारले ठूला कुरा गरिरहँदा स-साना खाल्डो पुरिएको नदेख्दा जनतालाई रीस उठेको बताए। अब जनताले गुनासो गरिरहेका स-साना कुरामा पनि हाम्रो ध्यान जानुपर्छ भनेर हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा समीक्षा गरिएको बताए। देशभरिको अनुभव केन्द्रित गरेपछि यस्तो समीक्षामा पुगेका प्रचण्डले बताए। सरकार आफ्नो तर्फबाट राम्रो काम गर्न अगाडि बढेको भन्दै संघीय गणतन्त्र कार्यान्वयन गर्न आवश्यक थुप्रै कानून बनाएर सरकारले संविधान कार्यान्वयनमा सहज वातावरण बनाएको बताए।


Your Views
Related News