शुक्रबार ०७ माघ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा आफूले अघि सारेको बताएका छन् ।

विहीबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै एमालेको ९ औं महाविधेशनमा आफूले सम्पूर्ण नेपालीको सपनाका रूपमा सो नारा अघि सारेको उनले दाबी गरे ।

‘सुखी नेपाली, समृद्ध नेपाल मैले नेकपा एमालेको ९ औं महाधिवेशनमा अगाडि सारेको नारा हो,’ खनालले भने, ‘कम्युनिष्ट आन्दोलन त्यति बेला ठ्याक्क ६५ वर्षमा पुगेको थियो ।

अब ३५ वर्षमा सय वर्षमा पुग्छ । यो अवधिमा हामीले नेपालमा कम्युनिष्ट आन्दोलनका सामु के लक्ष्य राख्ने त भन्दा सुखी नेपाली समृद्ध नेपाल हुनुपर्छ भनेर अगाडि सारिएको थियो ।’

केपी शर्मा ओलीको सरकारले पनि त्यहि नारालाई आफ्नो नाराका रूपमा अघि बढाएपछि चर्चामा आएको हो । खनालले समाजवादमा पुगेर मात्रै यो नारा पूरा हुने बताए ।

‘त्यो अहिले पनि म भन्छु-हाम्रो सपना हो । यो पूरा गर्न सम्पूर्ण जनता एकताबद्ध भएर अगाडि बढनुपर्छ । तर, जबसम्म समाजवाद ल्याउन सकिँदैन, त्यो सपना पूरा हुँदैन ।’

उनले पार्टी निर्माणको ४ महिनामै आफूहरूले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत बताए । पालिका र वडातहसम्म अहिले समिति निर्माण भइरहेको खनालको भनाइ छ ।


Last Updated on: December 24th, 2021 at 1:22 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया