बुधबार १२ माघ २०७८

काठमाडौँ ।

सुदर्शन खबर

एमाले विभाजनपछि माधवकुमार नेपालले दर्ता गर्न लागेको पार्टीमा नगएका भीम रावलले फेरी त्यहि समूहमा जाने संकेत गरेका छन् ।

एमाले विभाजन हुन लाग्दा माधव कुमार नेपाल समूहमा लागेका तर विभाजन भएपछि नेपालको साथ छोडेका नेताहरुको आचरणले ठुलो शंका निम्त्याएको छ ।

माधव नेपाललाई साथ दिएका नेताहरुले एकाएक उनको साथ छोड्दा ठुलो प्रश्नसमेत खडा भएको छ ।

एमाले पक्षका नेताहरुले भने केही दिन ओली पक्षमा लागेका तर उनीहरु पछि माधव नेपालले दर्ता गर्न लागेको पार्टीमा नै फर्किने बताएका छन् ।

यस्तै माधव समूह छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन लागेका भीम रावलले पनि छिट्टै नै माधव समूहमा जाने तयारी गरेको स्रोत बताउँछ ।

रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा विद्रोह गर्ने तयारीसमेत गरेका छन् ।

नेकपा एमाले दुई टुक्रामा विभाजन भएपछि फेरी तेस्रो धार देखापर्न थालेको हो । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका नेताहरु विभाजन भइसकेपछि ओली पक्षमा नै रहनुले यसको प्रष्ट संकेत गरेको छ ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गरेका हुन् ।

ती नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको बिन्दु निकाल्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

ओलीले हिजो गरेको सम्बोधन कार्यक्रममा पनि माधव समूह छोडेर आफ्नो समूहमा आएका नेताहरुको बारेमा केही बोलेका थिएनन् । उनीहरुको व्यवस्थापन गर्न ओलीलाई भारी पर्ने सम्भावना देखिएको छ ।

भीम रावल एमाले विभाजन हुन् लाग्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै गएका थिए ।

उनले माधव नेपालको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे । तर अहिले फेरी नेपाल समूहतर्फ नै लाग्ने संकेत गरेका छन् ।


Last Updated on: December 26th, 2021 at 11:02 am
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया