बुधबार १२ माघ २०७८

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नारायणहिटी प्रकरणमा झन् निर्मम बनेका छन् । आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका हुन् । आलेको यो कदमपछि बतास समूहको हावागोल भएको खबर छ ।

मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले नेपाल प्रेसलाई बताए । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् ।

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे । त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए ।

काठमाडौं विमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमीन विमानस्थलको नाममा आइसकेको जानकारी दिए । मन्त्री आलेले विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया बस्ती स्थानान्तरण गरिने बताए ।

उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।


Last Updated on: January 7th, 2022 at 2:50 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया