शुक्रबार ०७ माघ २०७८

काठमाडौँ–

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्।

उनले सो समूहलाई कुन प्रक्रियामार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए। मन्त्री आलेले मन्त्रीस्तरीय निर्णय वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने बताए। उनले नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे।

उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सी अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ।

त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस्, चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ। नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ। फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ। आज हामी त्यहाँ अवलोकन गर्न जादैछौँ। त्यहाँ स्ट्रक्चरहरु जुन निर्माण भएको छ, त्यो पनि हामी हेर्छौँ।’

उनले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए।


Last Updated on: January 7th, 2022 at 3:31 pm
६८० पटक हेरिएको

तपाईको प्रतिक्रिया