मंगलबार ०४ माघ २०७८

काठमाडौ। नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देशकै अभिभावका रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ।

नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनुभएको हो।

उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनुभयो।

आज बुधवार हामीसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिनुभयो।

उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

नेता गुरुङले भन्नुभयो, ‘पार्टी निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यकताअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो।

नेतृत्वको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा, जनयुद्धको अघिदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रियालगायतमा उहाँको नेतृत्वले देशकै निम्ति एउटा अभिभावक जस्तो, संरक्षक जस्तो भूमिका दिएको छ।

र अहिले पनि उहाँकै नेतृत्व हुनु स्वाभाविक कुरा हो। अरू नेतृत्वको टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रीकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकाले उहाँले नै टिम बनाउने कुरा हो। कस्तो टिम बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने कुरा उहाँले नै बनाउने कुरा हो।

पार्टी कमिटीमा छलफल गरेर, पार्टी कमिटीले निर्णय गर्ने विषय हो। सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा ढिला भएको हुनुपर्छ।

पदाधिकारी गठनको सन्दर्भमा स्थायी कमिटीकै सदस्य वर्षमानजी उपचारमा नै रहनुभएकाले उहाँले म नफर्कँदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी–विरोध रहन्छ भन्ने प्रकारको कुरा रहेकाले सायद केही समय कुर्ने भन्ने रूपमा गएको हुनसक्छ। मलाई लाग्छ २५ गते बैठक बस्ने भनिएको छ, त्यसमा टुङ्गोमा पुगिएला भन्ने लाग्छ।’

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताउनुभयो। उहाँले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकाले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताउनुभयो।

नेता गुरुङले आफूले अहिलेसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि चुनाव गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गर्नुभयो। उहाँले पदाधिकारीका लागि गरिएको चुनावले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो। र अन्त्यमा फेरि भन्नुभयो, ‘ओली एमालेका बा होलान् तर प्रचण्ड देशकै बा हुन्।’


Last Updated on: January 8th, 2022 at 4:47 pm
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया