मंगलबार ०४ माघ २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प’क्राउ परेकी छिन् ।शनिबार विराटनगरबाट काठमाडौं आउँदै गरेको विमानमा अ-वैध रकम राखिएको भन्ने सूचनाका आधारमा विमानस्थल प्रहरीले एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई रकमसहित प’क्राउ गरिएको हो ।

नेपाल प्रहरीका अनुसार एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत पोखरेललाई रकमसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

सौर्यका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरी झोला राखेको भन्ने सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । जाँच गर्दा रातो मेलब्यागभित्र चाउचाउको कार्टुनमा ५० लाख रुपैयाँ फेला परेको थियो ।

बुद्धिजीवी को हुन् ?सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई बुद्धिजीवी भन्न सकिएला ।

पुस १८, २०७८ वीणा झाप्रायः विभिन्न सामाजिक अवस्थाको निर्माण र तिनले पार्ने प्रभावहरूबारे गरिने विश्लेषण र छलफलहरूमा, आशा र अपेक्षाका साथ प्रयोग गरिने ‘बुद्धिजीवी’ शब्दको खपत बढ्दो छ । जबजब समाज सकसमा हुन्छ, त्यति बेला बुद्धिजीवीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको आरोप पनि लगाउने गरिन्छ । तर ‘बुद्धिजीवी’ भनेका को हुन् त ? विश्वका विभिन्न उत्कृष्ट विश्वविद्यालयबाट प्रमाणपत्र हासिल गरेका र प्राप्त ज्ञानलाई आफू र आफ्नाका अनुकूलता अनुसार प्रयोग गर्ने जमात ?

शैक्षिक प्रमाणपत्रको चाङ कम भए पनि आफ्नो पेसामा आबद्ध अनुभवले निखारिएको समूह ? अथवा, ती व्यक्तिहरू जसले शक्तिलाई रिझाउन सकेका हुन्छन् र आफ्ना विचारहरू विभिन्न माध्यममार्फत निरन्तर प्रवाह गर्दै समाजलाई प्रभावित पारिराखेका हुन्छन् ? कसलाई मान्ने बुद्धिजीवी ?

विचारले समाज डोर्‍याउँछ । र विचारहरू समाजमै निर्मित हुन्छन् जसमा बुद्धिजीवी वर्गको भूमिका गहन हुन्छ । राज्यसँग हस्तक्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने चरित्रकै कारण बुद्धिजीवीलाई अन्य व्यक्तित्वभन्दा विशिष्ट ठानिने मान्यता समाजमा स्थापित छ । अमेरिकी बौद्धिक नोम चोम्स्कीले बुद्धिजीवीहरूको उत्तरदायित्वलाई लिएर भनेका छन्, ‘सत्य बताउनु र झुटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो ।’

चोम्स्कीका शब्दमा, बौद्धिक वर्ग सधैं सत्ताको विपक्षमा उभिएको हुन्छ । स्रोतसाधन र शक्तिसम्पन्न सत्ताको चरित्र सधैं सर्वसाधारणलाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ केन्द्रित हुन्छ । सर्वसाधारणले सत्ताको यो कूटनीतिलाई बुझ्न सक्दैनन् र सत्ताको झुटो जालमा फस्छन् । तसर्थ, सत्यतथ्यलाई सर्वसाधारणसामु पुर्‍याउने र बुझाउने दायित्व बौद्धिकहरूले नै निर्वाह गर्नुपर्छ । अर्का अमेरिकी लेखक क्रिस्टोफर हिचेन्स्कोका अनुसार, ‘बौद्धिकहरूलाई सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु सत्य बोल्ने क्षमता भने उसमा हुनैपर्छ ।’

सत्यलाई चिन्न र झुटको पर्दा उघार्न सधैं प्रयत्नशील हुन्छ बौद्धिक वर्ग । यसो भन्दै गर्दा यहाँ केही प्रश्न उठ्छन्— बौद्धिक हुन कुनै विशिष्ट प्रमाणपत्र चाहिन्छ कि सार्वजनिक हितप्रतिको संवेदनशीलता र त्यसलाई साथ दिने साहस ? सत्य केलाई मान्ने अनि झुट के हो ? यसलाई निर्धारण गर्ने मापदण्डहरू के–के हुन् ? अनि ती मापदण्ड कसले तयार गर्छन् ? ती मापदण्डहरू समय, सन्दर्भ र अन्य विषयले प्रभावित हुन्छन् वा हुँदैनन् ? सत्यको पहिचान कसरी गर्ने र झुटलाई कसरी छुट्याउने ? बुद्धिजीवीहरूका लागि यक्षप्रश्न हुन् यी ।

हुन त २० औं शताब्दीका जर्मन कवि, नाटक तथा निबन्धकार बर्तोल्त ब्रेख्तले सत्य र झुट छुट्याउन सघाउ मिल्ने गरी ‘सत्य लेख्दा आइलाग्ने पाँच कठिनाइ’ बारे उल्लेख गरेका छन् । झुट तथा अज्ञानताको विरोध गर्न र सत्य लेख्न चाहने जोसुकैले सत्य लेख्ने साहस, सत्यलाई चिन्ने उच्च सजगता, सत्यलाई हतियारका रूपमा कुशलतासाथ प्रयोग गर्ने सीप, ती मानिसहरूको छनोट गर्ने बुद्धिमत्ता जसका हातमा सत्य प्रभावकारी होस् र सत्यलाई धेरै मानिसबीच पुर्‍याउने चतुर्‍याइँजस्ता कम्तीमा पनि पाँच कठिनाइमाथि विजय प्राप्त गर्नैपर्ने उनको धारणा छ ।

तर यहाँ पनि सत्य निर्धारण गर्ने मापदण्डबारे स्पष्टता छैन । हुन त ब्रेख्त थप संकेत दिन्छन्, ‘सर्वत्र सत्यको विरोध भइरहेका बेला लेखकमा सत्य लेख्ने साहस हुनैपर्छ ।’ सत्य सर्वत्र छद्म रूपमा रहने हुँदा लेखकमा सत्यलाई चिन्ने उच्च सजगता र सत्यलाई हतियारका रूपमा प्रयोग गर्ने सीप पनि हुनैपर्छ, सत्य कसको सामु पुर्‍याउने र कसरी फैलाउने भन्नेमा पनि लेखक सचेत हुन उत्तिकै आवश्यक हुन्छ ।

यसरी हेर्दा, सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई बुद्धिजीवी भन्न सकिएला ।

यो सर्वस्वीकार्य तथ्य हो, मानिस पूर्ण रूपमा स्वतन्त्र छैन । विश्वदेखि राज्य र समाजसम्मले अँगालेको हरेक प्रणालीको प्रभाव मानिसको सोच्ने शैलीदेखि सम्पूर्ण व्यक्तित्व निर्माणसम्ममा परेको हुन्छ, चाहे त्यो आर्थिक होस् वा राजनीतिक अथवा सांस्कृतिक र साहित्यिक । ती सबैले कुनै न कुनै रूपमा मानिसको सोच निर्माण र निर्णय प्रक्रियामा योगदान गरेकै हुन्छन् । त्यसैले बुद्धिजीवी निर्माणमा आवश्यक वातावरण बनाउनमा राज्यको भूमिका र योगदान निकै महत्त्वपूर्ण हुन्छ ।

चरम बेथिति, शक्ति र स्रोतसाधनको असमान उपयोग र वितरण, बढ्दो बेरोजगारी, अवसरविहीनताका साथै दण्डहीनता र संरक्षित भ्रष्टाचारजस्ता विकृतिले गाँजेको राज्यका संरचनाहरूलाई यो दुश्चक्रबाट निकाल्नमा बुद्धिजीवीको भूमिकालाई नकार्न सकिन्न । तर त्यसका लागि उचित वातावरण बनाउने जिम्मा राजनीतिले लिनुपर्ने हुन्छ । र सहयोगी भूमिकामा राज्यको चौथो अंग अत्यधिक महत्वपूर्ण हुन जान्छ । समाजमा कस्तो विचार दिने, ती विचारहरूले समाजलाई सशक्तीकरण गर्छन् वा क्षयीकरणतर्फ धकेल्छन् भन्ने कुराको निर्णय र जवाफदेही चौथो अंगकै हुन्छ । किनकि मिडियाको भूमिकाबिना समाज रूपान्तरण सम्भव छैन ।

हुन त समाजको कमजोर वर्गलाई विभिन्न तरिकाको बुद्धिकै प्रयोग गरी शोषण गरिने यथार्थलाई नकार्न सकिन्न तर ती पनि बुद्धिजीवी नै हुन् जसको इमानदार प्रयासले राज्यलाई सकस परेका बेला दिशानिर्देश गर्छ र सामाजिक न्याय स्थापना गर्न मद्दत गर्न सक्छ । त्यसका लागि बुद्धिजीवीको एउटा मुख्य भूमिका व्यक्ति र राज्यबीच स्वस्थ सम्बन्ध निर्माण र निरन्तरताका लागि सामूहिक प्रतिबद्धता पनि हो ।

विभिन्न परिवर्तनलाई केवल राजनीतिक–आर्थिक आधारमा मात्रै बुझ्ने र व्याख्या गर्ने परिपाटीलाई बदल्न र त्यस्ता परिवर्तनमा सामाजिक–सांस्कृतिक शक्तिहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने दृष्टिकोण बनाउन बुद्धिजीवीहरूको भूमिका महत्त्वपूर्ण हुन सक्छ । आजको युगमा भौतिक शक्तिको प्रयोग गरी कसैमाथि सहजै नियन्त्रण गर्न सम्भव छैन र त्यस्तोमा सांस्कृतिक शक्तिहरूको प्रयोगले सफलता मिल्ने सम्भावना बढ्छ, जसलाई लिएर सय वर्षअगाडि नै एन्टोनियो ग्राम्सीले ‘कल्चरल हेजेमोनी’ सिद्धान्त प्रतिपादन गरेका थिए ।

सामान्य अर्थमा संस्कृति भन्नाले कुनै समुदायले आफ्नो भिन्नता दर्साउन मनाउने विशेष चाडपर्व, पहिरन, भाषा र खानपानलाई बुझ्ने गरिन्छ । फराकिलो रूपमा हेर्दा, संस्कृति भनेको जीवनशैलीको सम्पूर्ण रूप हो जसमा सोच्ने शैलीदेखि लिएर गरिने व्यवहार र दृष्टिकोणको निर्माणसमेत पर्छ अनि त्यसको निर्माणचाहिँ समाजको नियन्त्रण र सहज निरन्तरताका लागि गरिएको हुन्छ ।

त्यसैले विश्वका सबै समाजमा संस्कृतिहरू जीवित हुन्छन् अनि समयअनुकूल परिमार्जित, परिवर्तित र विस्थापित भइरहन्छन् । चलायमान हुनु समाजको प्रकृति हो तर कतिपय सन्दर्भमा समाज ‘रिजिड’ भइरहेको हुन्छ । जस्तो कि, विगतको आवश्यकता हेरी आकार लिएका संस्कृतिहरूलाई मानवनिर्मित नसम्झी समुदायविशेषको अहंसँग जोड्दा समाज परिवर्तन र स्थापित संस्कृतिबीच बेमेलसँगै विभिन्न समस्या उत्पन्न हुन्छन् । त्यसैले संस्कृति निर्माणमा बुद्धिजीवीहरूको भूमिका निकै महत्त्वपूर्ण हुने गर्छ ।

संस्कृतिलाई मानिसले प्राकृतिक रूपमा स्विकारेको हुन्छ । संस्कृतिमा विचलन ल्याउनुको अर्थ समाजको हरेक संरचना भताभुंग पार्नु हो भन्ठानेर मानिस यसतर्फ कसैलाई अग्रसर भएको हेर्न सक्दैन । हरेक मानिसले समाजविशेषको सांस्कृतिक व्यवस्थासँग, मूल्यमान्यतासँग ‘अर्गानिक’ सम्बन्ध स्थापित गरेको हुन्छ । हुन त ती सबै मूल्यमान्यता मानवनिर्मित हुन्छन् र तिनमा परिवर्तनसमेत सम्भव हुन्छ ।

संस्कृतिलाई प्राकृतिक व्यवस्थाका रूपमा स्विकारिनुचाहिँ मुख्य समस्या हो । यही भिन्नता बुझाउन बुद्धिजीवीहरू अग्रसर नहुने हो भने समाजको आर्थिक विकासले गति लिए पनि सामाजिक विकास निकै पछाडि पर्न सक्छ । तसर्थ, ती मानिस जो आ–आफ्ना पेसामा इमानदारी र दक्षताका साथ आबद्ध छन् अनि सार्वजनिक हितका लागि हमेसा प्रतिबद्ध भई जवाफदेहीका साथ अडिग छन्, जसलाई समाजले आफ्नो आदर्श मान्न हिचकिचाउँदैन, तिनीहरू नै हुन्— बुद्धिजीवी ।


Last Updated on: January 14th, 2022 at 5:33 am
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया