बुधबार १२ माघ २०७८

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले माओवादीविना देशमा कुनै काम सम्भव नभएको दावी गरेका छन् । पार्टी प्रवक्तासमेत रहेका नेता महराले बिहीबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादीका कारण आएको परिवर्तन कहिले पनि नसिद्धिँने दावी गरे ।

उनले पछिल्लो समय माओवादीहरूलाई सिध्याउन केही तत्वहरु लागि परेको बताए । तर त्यो सम्भव नभएको उनको भनाइ छ ।उनले भने, ‘पछिल्लो समय माओवादीलाई सिध्याउन केही तत्वहरु लागि परेका छन् । माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैन। माओवादीविन यो देश नै चल्दैन।’

उनले यो कुरालाई वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वीकारेको र सार्वजनिक कार्यक्रममै मुलुकको परिवर्तन मओवादीविन सम्भव नभएको बताएको स्मरण गराए ।

उनले माओवादी पार्टी श्रमजिवी र जनताको पार्टी एको जिकिर गरे । नेता महराले माओवादी सिद्धान्तमा हिँडेका र श्रमजीवी जनतालाई कहिल्यै नछाड्ने बचन दिए । नेपालमा काम गर्ने वर्गको मुक्तिका लागि कुरा गर्ने कम्युनिष्ट पार्टीहरू धेरै भएपनि उनीहरुले भ्रमको खेति मात्रै गरेको आरोप लगाए ।

उनीहरुले सिद्धान्तभन्दा पनि विकास निर्माणमा मात्र हेर्ने र एकछिनमै सकिने बताए । तर माओवादी पार्टी भने सिद्धान्त र विकास निर्माणलाई सँगै लैजाने पक्षमा रहेको भएकाले अन्य कम्युनिष्टहरु भन्दा फरक भएको नेता महराको दावी छ । माओवादी हिजोका दिनमा सानो भएपनि अहिले विशाल हुँदै गएको सुनाए ।

एमालेसँग सँगै हिंड्न सकिन्न – बादल
नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन् । बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन् ।

बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार अघि बढ्छौं भनेर कमरेड बादलले भन्नुभएको छ । जेठ २ गते एमालेलाई फर्काउनु सही होइन । हामी नेकपाकालीन संरचनामार्फत अघि बढ्न खोजेका थियौं ।’

केही दिनअघि बादलले आफू एमालेमा नरहने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको समाचार बाहिरिएको थियो । तर बादलले आफै प्रचण्डलाई भेटे या कसैमार्फत भेटे भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।

प्रचण्डको सचिवालयले बादल र प्रचण्डबीच कुराकानी भइरहेको जानकारी दिएको छ । एमालेको बैठकमा बादललाई फलामे कुर्चीमा सारिएको विषयले पनि त्यत्तिकै चर्चा पाइरहेको छ ।बादलमात्र नभएर मणि थापा, लेखराज भट्ट र प्रभु शाह पनि माओवादी केन्द्रमै जोडिने चर्चा यसअघि नै चलेको थियो ।


Last Updated on: January 14th, 2022 at 7:34 pm
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया