आइतबार ०८ जेठ २०७९

काठमाडौं ।

नेकपा एमालेका नेता घनश्याम भुषालले एमाले छाड्ने मनस्थिति बनाएको समाचार बाहिरिएको छ । स्रोतका अनुसार नेकपा एमालेभित्र आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेका भुसालले अब एमाले छाडेर नयाँ ढंगबाट अघि बढ्न खोजेका छन् ।

नेकपा एमालेको १० औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए । पराजित भएपनि उनी केन्द्रीय सदस्य भने बनेका छन् ।कुनै समय एमालेभित्र प्रभावशाली एवम् बौद्धिक नेताको रुपमा चिनिएका नेता भुसाल अहिले भने गु्मनाम जस्तै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि भुसाललगायत नेताहरु ओलीको चर्को आलोचकको रुपमा उत्रिएका थिए ।

भुसाललगायत नेताहरुले त्यसकै रिसमा मन्त्री पदसमेत छाडेका थिए ।लामो सभय माधव कुमार नेपालको क्पाम्पमा रहेका उनी पार्टी विभाजन भएर एकीकृत समाजवादी गठन हुँदा भने नेकपा एमालेमा नै बसेका थिए ।

नेकपा एमालेमा आफू भूमिकाविहीन हुँदै गएको महसुस गरेका उनले अब नेकपा एमाले छाडेर नयाँ ढंगबाट राजनीति सुरु गर्ने मनस्थिति बनाएको बुझिएको छ ।माधव कुमार नेपालको साथ छाडेर नेता भुसालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत नेताहरु एमालेमा नै बसेका थिए ।

भुसालसहित अरु केही नेताहरु पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई मान्न सकिरहेका छैनन् । उनीहरु पनि भुसालसँगै पार्टी छाड्ने पक्षमा रहेको एक नेताले बताए । ‘यस्तै अवस्था हो भने अब एमालेमा बसिरहनुको औचित्य छैन’, उनले भने, ‘अब नयाँ धारबाट राजनीति सुरु गर्नुपर्छ , त्यो भनेको घुसालसहित हामीहरु एमाले छाड्न पनि सक्छौँ । अहिलेलाई यति भनौँ ।’

यस्ता छन् एमालेको अन्तिम बैठकका निर्णय
चितवनको सौराहमा गएराति बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारीको संख्या १९ बनाउने निर्णय गरेको छ।जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सात बनाउने निर्णय भएको हो ।

यसअघि १५ पदाधिकारी बनाउने निर्णय गरिएको थियो। अन्तिम बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्ने निर्णय गरेको छ।योसँगै एमाले केन्द्रीय कमिटी अब ३०१ सदस्यीय हुने भएको छ।

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले पोलिटब्यूरो पनि ब्युँताएको छ। यसअघिको बैठकले पोलिटब्यूरो नराख्ने निर्णय गरेको थियो।अब पोलिटब्यूरो ९९ सदस्यीय हुनेछ।त्यस्तै, स्थायी कमिटी ४५ सदस्यीय बनाउने बैठकले निर्णय गरेको छ।

अन्तिम बैठकले केन्द्रीय अनुशासन आयोग २२ सदस्यीय, केन्द्रीय लेखा आयोग २२ सदस्यीय र केन्द्रीय निर्वाचन आयोग २२ सदस्यीय बनाउने पनि निर्णय लिएको छ।यससँगै केन्द्रीय सल्लाहकार परिषद ३०१ सदस्यीय, जिल्ला कमिटी ७५ सदस्यीय र प्रदेश कमिटी पनि ७५ सदस्यीय बनाउने निर्णय गरेको छ।

केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भने केन्द्रीय कमिटीले मनोनित गर्नेछ।सहमतिका आधारमा नेतृत्व चयनका लागि पदाधिकारी संख्या बढाउने निर्णय गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन्।

केन्द्रीय कमिटीको प्रस्तावलाई महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ। आज चितवनको सौराहमा बन्दसत्र शुरु हुँदै छ। एमालेको १०औं महाधिवेशन १० मंसीरमा चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको थियो।


Last Updated on: January 21st, 2022 at 9:56 am
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया