मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अधयक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रश्न उठाएका हुन् । प्रचण्ड नेपालको नैतिकतामाथि उनीहरुकै पार्टीका नेताकार्यकर्ताले प्रश्न उठाउन थालेका छन् ।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । अग्रगमन र प्रतिगमनको डम्फा बजाएर हिँडेकाहरूले नै अर्ली इलेक्सनको प्रस्ताव गरेको भन्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति जारी गर्दैआफूले ताजा जनादेशको माग गर्दा प्रतिगमन भन्नेहरुले कुन मुखले अर्ली इलेक्सनको कुरा गर्दैछन् भन्ने प्रश्न उठाएका छन् ।

गठबन्धनका नेता प्रचण्ड र माधव नेपालले एमालेले संसद चल्न नदिएको भन्दै बैशाखमै संसदीय चुनाव गर्ने प्रस्ताव राखेकोमा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले भनेका छन्ः गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए । जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्ने भाष्य निर्माण गरियो ।

प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?

ओलीले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ असल मनशायले होइन नफालेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ( स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ ।

हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । जुनसुकै बेलामा निर्वाचन भए पनि हामी सामना गर्न तयार छौं ।


Last Updated on: January 24th, 2022 at 4:24 pm
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया