बुधबार ०४ जेठ २०७९

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले महाकाली सन्धीको पक्षमा विगतमा भएको निर्णय गम्भीर र ऐतिहासिक गल्ती प्रमाणित भएको बताएका छन् । उनले विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

हिजो बसेको स्थायी कमिटि बैठकमा बोल्दै गौतमले महाकाली सन्धी गर्दा मुहान लिम्पियाधुरा तय हुनुपर्छ अनिमात्र सन्धी गर्नुपर्छ भन्दा कारबाही गरिएको घटना स्मरण गराउँदै आत्मालोचना गर्न सन्धीका पक्षधरलाई आग्रह समेत गरे ।

‘मलगायत १६ जना कमरेडहरुले महाकाली सन्धी गर्दा नदीको मुहान तय गर्नुपर्छ भन्दा कारबाही गरेर अन्याय गरिएको थियो,’ गौतमको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, जो जो सन्धीको पक्षधर थिए उनीहरुले पनि त्यसको समिक्षा गरी आत्मालोचना गर्नुपर्छ ।

गौतमले कडा रुपमा प्रस्तुत हुँदै इतिहासको घटनाको व्याख्या गरे । उनले पार्टी समेत विभाजन भएको कारण महाकाली सन्धी भएको बताए । गौतमले महाकाली सन्धीको विषयमा बोल्दा बैठकमा माहोल नै फरक भएको थियो ।

अहिले भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उठ्दा महाकाली सन्धी फेरि स्मरणमा आएको छ । २५ वर्ष अघि भएको सन्धीको पक्षमा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सक्रियता देखाएका थिए ।

२९ माघ २०५२ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तत्कालिन प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धी भएको थियो । उक्त सन्धीलाई संसदले ४ असोज २०५३ मा दुई तिहाईले पारित गरेको थियो । सन्धीको विपक्षमा रहेको समुहको नेतृत्व गौतमले गरेका थिए ।

पछि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही भएको थियो । पछि गौतम महासचिव र साहना प्रधान अध्यक्ष बनेर नेकपा माले गठन भएको थियो ।

‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

एमाले यसरी फुट्यो, अनि यसरी जोडियो

राधाकृष्ण मैनाली

प्रकाशित मिति

काठमाडौ

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो ।

नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा ल्याउँदा पार्टी फुट्छ भनेर ठोकुवा गरेको थिएँ । त्यसैले महाधिवेशनमा महाकालीको मुद्दालाई मुख्य मुद्दा नबनाउन आग्रह गरें ।

फरक मत राख्ने साथीहरूसँग म कुरा गर्छुसम्म भनेको थिएँ, माधवसँग । केन्द्रीय समितिको संख्यामा मिलाएर भए पनि महाकाली सन्धिको मुद्दालाई महाधिवेशनमा मूल विषय नबनाउन पटक-पटक प्रस्ताव गरें । मेरो अर्को भनाइ थियो, ‘फरकमत राख्ने साथीहरू कसैलाई पनि केन्द्रीय सदस्यबाट कसैलाई नहटाऊँ । बरू त्यसका लागि केन्द्रीय सदस्य संख्या केही बढाऊँ ।’

माधव नेपालले महाधिवेशनमा आफूलाई बलियो ठाने र महाकाली सन्धिको विषयलाई मुख्य मुद्दाको हैसियत दिए । मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए

तर बहुमतले निर्णय गरिसकेको विषय भएकाले माधवले महाधिवेशनमा आफूलाई बलियो ठाने र यो विषयलाई मुख्य मुद्दाको हैसियत दिए । त्यति मात्र होइन, माधवले केन्द्रीय सदस्य संख्या स्वात्तै कटाएर असहमत पक्षका आठ जनालाई मात्रै केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव गरे ।

मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णायक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाइदिन्छु भन्ने सोचबाट माधव अघि बढे र औपचारिक रुपमा पार्टी विभाजन भयो, ०५४ साल फागुन २१ गते ।

वामदेव र सीपीबीच खटपट, फेरि पार्टी एकता

पार्टी दुई फ्याक भएपछि एमालेलाई घाटा त भयो नै, नयाँ पार्टी मालेसमेत जन्मजातै रोगायो । मालेका शीर्षस्थ नेताद्वय सीपी र वामदेवबीच सुरूमै समस्या देखियो ।

सीपी सानो समूह बोकेर पार्टीभित्रका सदावहार विपक्षी बनिरहन खोेजे ।

बामदेव सीपीलाई नेता मान्न तयारै भएनन् । बामदेवमा एक नम्बरको नेता मै हुँ भन्ने अहम् बढिरहृयो । कतै जाँदा, हिँड्दा, बस्दासमेत बामदेवले आफूलाई राष्ट्रकै पहिलो नम्बरको नेता हुँ भन्ने भाव देखाउन खोजिरहे । यस्तो प्रवृत्तिले पार्टी चलाउन कठिन बन्दै गयो ।

यही मौका पारेर माधवले बामदेव र सिद्धिलाल सिंहलाई एमालेमा फर्काउन फकाउन थाले ।

उनी सिंगो मालेलाई होइन आफूलाई मन परेका खास-खास नेताहरूलाई छिमलेर एक्लाएक्लै एमालेमा फर्काउन चाहन्थे । म र सीपीलाई भने फर्काउन चाहँदैनथे । म ठोकुवाका साथ भन्न सक्छु, माधव हामी दुई दाजुभाइलाई भित्रैदेखि पूर्वाग्रही आँखाले हेर्थे । उनले मलाई व्यक्तिगत रुपमा कहिल्यै असल नजरले हेरेनन् ।

मालेको केन्द्रीय समितिले एमालेसँग एकता गर्ने निर्णय गर्न नसकेपछि मात्र माधवले मलाईसमेत बोलाएर एकता वार्ता गर्न थालेका हुन् ।

मसँगको वार्तामा माधव बडो हार्दिक हाउभाउको आवरणमा प्रस्तुत भएका थिए । उनले विगतमा आफूबाट धेरै गल्ती भएको पनि स्विकारे ।

एउटै विचार, चिन्तन र गन्तव्य भएका दुई पार्टी अलग अलग बाटो हिंड्नुभन्दा सँगै यात्रा गर्दा सहज हुने बताए । ‘महाकाली सन्धिबाहेक माले र एमालेका समान उद्देश्य, व्यवहार, सिद्धान्त भएकाले एकै ठाउँ हेलिएर अघि बढौं,’ माधवले धेरैपटक मसँग भनें ।

तत्काल गरिएको सांगठनिक सहमतिहरू आठौं महाधिवेशनसम्म लागू गरेर जाऔं भन्ने प्रस्ताव राखे । यी कुरा हुँदासम्म मलाई स्थायी समिति सदस्यमा कुनै पनि मूल्यमा नछुटाउने वचन दिएका थिए ।


Last Updated on: January 25th, 2022 at 1:38 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया