मंगलबार ०३ जेठ २०७९

राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका पाँच दल राष्ट्रियसभामा दुई तिहाईमा पुग्ने अवस्था बनेको छ । एमालेले हाल रहेको ८ सिटमा ७ सिट गुमाएको छ । यसबाट २० फागुनपछि एमाले राष्ट्रियसभामा १७ सिटमा खुम्चने भएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा २० फागुनपछि एमालेको १७ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद हुनेछन् । सत्ता गठबन्धनबाट माओवादीको १५, काँग्रेसको १०, नेकपा एसको ९, जसपाको ३ र राजमोको १ गरी ३८ सांसद हुनेछन् ।

स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि गठबन्धन निकट हुन् । राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतम पनि एमालेमा छैनन् । रामनारायण बिडारीको स्थानमा मन्त्रिपरिषदबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित सांसद हुनेछन् ।

यसमा पनि सत्ता गठबन्धनबाटै हुने निश्चितप्रायः छ । २० फागुनपछि सत्ता गठबन्धनमा ३८ र पक्षधर १ गरी ३९ सांसद हुनेछन् । बामदेव गौतमको साथ मिलेमा ४० पुग्नेछ भने मनोनित पनि पक्षधरबाट भएमा ४१ पुग्नेछ ।

यस्तो अवस्थामा गठबन्धन राष्ट्रिय सभामा दुई तिहाईमा पुग्नेछ । सत्ता गठबन्धनका दलहरु दुई तिहाईमा पुग्नु भनेको राष्ट्रियसभा निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा पर्नु हो ।

विश्वस्त स्रोतका अनुसार हिजोको मत परिणाम आएपछि सत्ता गठबन्धनले तिमिल्सिनाविरुद्ध महाभियोग लगाउने पूर्वतयारी गरिसकेको छ । महाभियोग पाति गर्न ५९ सदस्यीय राष्ट्रियसभामा ४० सांसदको साथ भए पुग्छ ।

संविधान अनुसार राष्ट्रियसभाको अध्यक्षलाई एक तिहाई सांसदले महाभियोग लगाउन प्रस्ताव पेश गर्न सक्नेछन् । पारित गर्न भने दुई तिहाई आवश्यक पर्छ । राष्ट्रियसभाको अब बन्ने संरचनामा सत्ता गठबन्धनको अंकगणितले तिमिल्सिनाको पद भने धरापमा पारेको छ ।

राष्ट्रियसभामा २० फागुनबाट कस्को कति सिट

नेकपा एमाले-१७ / माओवादी केन्द्र-१५ / नेपाली काँग्रेस-१० / नेकपा एस-९ / जसपा-३ / राजमो-१ / लोसपा-१ / स्वतन्त्र खिमलाल देवकोटा-१ / मनोनित कतै नखुलेका बामदेव गौतम-१ / मनोनित हुन बाँकी-१


Last Updated on: January 28th, 2022 at 12:14 pm
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया