मंगलबार ०३ जेठ २०७९

काठमाडौ ।
उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् ।

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

सामूहिक राजीनामा दिने मनस्थितिमा
‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं ।पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ ।पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ ।

यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् ।

तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं ।

पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो पनि हेर्नुहोस, मेटमणी चौधरीको दावी : एमाले र विजयीको अब भेट हुँदैन
नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् ।नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् ।

साथै हारको लाज छोप्न केपी ओलीका चाकरहरूले ५ दलीय गठबन्धनका विरुद्ध अनेक अफवाह मच्चाइरहेको भन्दै कटाक्ष गरेका छन् ।चेतावनीको शैलीमा चौधरीले फेसबुकमार्फत भनेका छन्, ‘याद होस् दास/दासीहरूलाई– चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो ।

चाहे एक्लै होस् या मिलीजुली । मिलेरै/मिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोँच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिकजस्तो किन एक्लिरहेका छौ ।

सरकारको नेतृत्वबाट प्रतिपक्षीको भूमिकामा कसरी झर्न पुगिम के यो बिषयमा कहिले सिंहावलोकन गरेका छौ ? तिम्रा यिनै घमन्डको कारण आज बिचरा भएका छौ ।’

त्यस्तै उनले एमालेका नेताहरुलाई दासको संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘दासहरूले के पनि भुल्नुहुँदैन भने– २०७४ सालको चुनावमा माओवादीसँग चुनावी एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारीमा सघाएको र त्यसबापत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेची अरू ठाँउबाट असुली गरेको, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा गैर एमालेका नेताहरूलाई सूर्य चिन्ह दिएर अरू निर्वाचन क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका !

उक्त सबै कार्य तिमीले बा भनेका खड्गप्रसाद ओलीले गरेका होइनन् ? दास बन्नु/हुनुको पनि सिमा हुन्छ !
जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अवैध सम्झौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !’

उनले संसारभरिका राजनैतिक कल्चर ध्रुवीकरण भइरहेको भन्दै भारत लगायत युरोपमा समेत मिल्न सक्नेहरूका बीचमा चुनावी एकता भएको स्मरण गराउँदै ‘स्यालहुइँया नगरेकै राम्रो’,भनेका छन् ।

राष्ट्रियसभाको चुनावी परिणामपछि ओलीका दासहरूले यो हार हाम्रो अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ र पाँच दल मिलेर जित्ने– अनि यत्रो फूर्ति !

लगाउने भनेर गरेको टिप्पणीमा एमालेको हारको श्रृखंला निरन्तर अघि बढ्ने दावी समेत गरेका छन् । उनले लेखेका छन्,‘अब देखि नेकपा एमाले र विजयीको बीचमा कहिल्यै भेट हुनेवाला छैन ।

नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !’


Last Updated on: January 28th, 2022 at 1:29 pm
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया