
काठमाडौ। सक्रिय रुपमा होईन तर अभिभावकका रुपमा देशलाई नेतृत्व दिन आफू इच्छुक रहेको पूर्व राजाले बताएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहले २०५९ साल असोजमा विघटित प्रतिनिधिसभा ब्युँताउनु अघि २०६३ साल बैशाख ११ गते सात राजनीतिक दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको बताएका छन्।
केही दिन पहिले तराईका केही जिल्लाको भ्रमणमा निस्केका शाहले न्यूज २४ टेलिभिजनलाई दिएको विशेष अन्तर्वार्तामा तीन/चार बुँदामा सीमित त्यस्तो सम्झौतामा राजनीतिक दलहरुमध्येबाट प्रधानमन्त्री नियुक्त गर्ने, बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र ब्युँताउने लगायत सहमति भएको दाबी गरे।
शाहले भने, ‘बुँदाहरु धेरै थिएनन्, स्पष्ट थियो, जे-जे उहाँहरुले माग्नु भएको थियो त्यो मैले गरे।’ पूर्व राजा शाहले दलहरुबीच भएको त्यस्तो सम्झौता बमोजिम आफूले काम गर्दै आएको पनि बताएका छन्।
‘संसदको पुनर्स्थापना गर्नुपर्ने, दलहरुमध्येबाट प्रधानमन्त्री नियुक्त गर्नु पर्ने, संवैधानिक राजतन्त्र र बहुदलीय ब्यवस्थालाई फेरि ब्युँताउनु यस्तै-यस्तै मागहरु थिए’ सम्झौतामा भएका ब्यवस्थाका बारेमा शाहले भने। त्यो सम्झौता आफू वा अरु कसैसँग अझै पनि सुरक्षित भएको शाहले संकते गरे।
आठ
‘त्यसपछि स्थिति कसरो मोडियो त?’ भन्ने प्रश्नमा उनले भने, ‘आठ भएपछि हो कि जस्तो लाग्छ मलाई।’
तत्कालीन सात राजनीतिक दलसँग त्यस्तो सम्झौता भएको र पछि एकीकृत माओवादी थपिएपछि दलहरुको संख्या बढेर आठ भएपछि स्थिति मोडिएको तर्फ शाहको संकेत थियो।
‘त्यस्तो सम्झौता गर्ने मध्ये अहिले पनि धेरै दलहरु अस्तित्वमा छन्, के उनीहरुले नैतिकता बिर्सिए जस्तो लाग्छ?’ भन्ने प्रश्नमा शाहको उत्तर थियो, ‘अब नैतिकताको कुरा गर्ने हो कि जे कुरा गर्नुहोस् त्यो त उहाँहरुलाई नै थाहा होला, अब किन के भयो? मैले त सजिलैसँग छोडि दिएको हुँ, जवाफदेही उहाँहरु हुनुहुन्छ, के गर्न खोजेको किन गर्न सक्नु भएको छैन त्यसको जवाफदेही त उहाँहरु हुनुहुन्छ जनतासामु।’
अहिलेको शून्यतालाई केही न केही र कसै न कसैले पूर्ति गर्न खोज्ने उनले बताए। उनले भने, ‘प्रेम आले जस्ता 2-4 जना नेता भईदिए देश कायापलट हुन समय नै लाग्दैन।’
अभिभावक
“पूर्व राजा ज्ञानेन्द्रले एकपल्ट फेरि देशलाई सक्रिय एवं नेतृत्वदायी भूमिका दिन खोजेका हुन् भनेर बुझ्यो भने त्यो गलत त हुँदैन’ भन्ने प्रश्नमा शाहको उत्तर थियो, ‘गलत हुन्छ, किन भने सक्रिय होईन।’
‘नेतृत्व दिन चाहनु हुन्छ, तर सक्रिय रुपमा होईन अभिभावकका रुपमा हो?’ भन्ने प्रश्नमा उनको उत्तर थियो, “दयाट ईज बेटर, मच-मच बेटर, (त्यो उपयुक्त हुन्छ, अति नै उपयुक्त हुन्छ।)
‘पूर्व राजा वर्तमान राजा भएर अभिभावकको भूमिका निर्वाह गर्न इच्छुक हुनुहुन्छ?’ भन्ने प्रश्नमा शाहले भने, ‘एस (त्यो ठीक हो)।’
दलका नेताहरु बाहिरबाट सञ्चालित छन् भन्ने आफूलाई धेरैले सुनाउने गरेको पनि शाहले बताए। त्यसबारेको आफ्नो वक्तब्य आफूले सुनेको र अनुभव गरेको सन्दर्भमा आएको उनको भनाइ थियो।
अर्को चुनाव अघि कुनै दल खोल्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा शाहले आफू बाचुञ्जेल कुनै पनि दल नखोल्ने बताए।
उनले भने, ‘म बांचुञ्जेल त हुन्न होला, म मरेपछि अरुले गर्छ कि मलाई थाहा छैन।’ देशको स्थिति हेरेर बस्ने तर त्यसको पनि सीमा हुने शाहले बताए। @Enewsnepali