मंगलबार ०३ जेठ २०७९

काठमाडौं । अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ दलहरूभित्र सन्नाटा छाएको छ । एमसीसी संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा जति दवावमा छन् ।

एमसीसीविरुद्ध देशव्यापी माहोल बनिरहेका बेला यो सम्झौता संसदबाट अनुमोदन गराउने पर्ने बाध्यतामा देउवा परेका छन् भने उनले सत्ता गठबन्धनमा रहेका दलहरूमाथि बाध्यता थोपरेका छन् ।

एकातिर स्थानीय चुनाव अर्कातिर एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने बाध्यताले दलहरू थाल खाउँ कि भात खाउँको अवस्थामा परेका छन् ।

आफ्नै दल माओवादी केन्द्रभित्र एमसीसीको पक्षमा कोहि नेताहरू नभएपछि प्रचण्ड यतिबेला निर्णायक समस्यामा परेका छन्। भर्खरै सकिएको महाधिवेशनबाट पार्टीको तल्लो तहदेखि केन्द्रसम्म एमसीसीविरोधी ‘सेन्टिमेन्ट’ तयार भैसकेको छ ।

यतिबेला एमसीसीको पक्षमा लाग्दा माओवादी मात्रै होइन आफै पनि पार्टीभित्र संकटमा पर्ने अवस्था प्रचण्डलाई छ । एमसीसीको दवाव आएपछि पार्टीका धेरैजसो नेताहरूले खुला विरोध गरिरहेका छन् ।

भर्खरै सखिएको महाधिवेशनबाट प्रचण्ड आफैलेले एमसीसीका कतिपय प्रावधान देशहितमा नभएको ठहरसहितको राजनीतिक प्रतिवेदन पारित गराएका छन् । प्रतिवेदनको मसी नसुक्दै प्रचण्डमाथि आइलागेको दवावले उनी पार्टी बचाउने कि गठबन्धन बचाउने भन्ने निर्णायक मोडमा पुगेका छन् ।

माओवादीकै एक नेताले बताए अनुसार सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिले एमसीसी अनुमोदनका लागि दवाव दिएपछि प्रचण्ड निकै ठुलो अप्ठेरोमा परेका छन् ।

उनले सायद प्रचण्डको लागि अहिलेसम्मकै सबैभन्दा खराब अफ्ठेरो परेको बताउँछन् । भर्खरै प्रतिगामी भन्दै ओलीको सरकार ढालेर बनाएको अग्रगामी सरकार र गठबन्धन बचाउने कि पार्टी बचाउने भन्ने निकै ठुलो अफ्ठेरोमा उनी छन ।

पुस १८ गते आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको प्रचण्डको प्रस्तावमा उल्लेख छ, ‘एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले यथास्थितिमा पारित गर्नु हुँदैन ।

महाधिवेशनबाटै संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच सहमति कायम गरेर मात्रै एमसीसी अघि बढाउन प्रचण्डले म्यान्डेड पाएका छन् ।

यता एमसीसी अनुमोदन गराउने दवाव बढेलगत्तै माओवादीभित्र सबैजसो नेताहरूले प्रचण्डलाई चेतावनी दिन थालेका छन् । बरू सरकार र गठबन्धनको माया मारेर भएपनि यसको विरुद्धमा उभिन उनलाई पार्टीमा ठुलो दवाव छ ।

आफ्नै नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार गिराएर अग्रगामी सरकार बनाएका प्रचण्ड गठबन्धन तोड्न पनि नसक्ने अवस्थामा छन् ।

देउवाले गठबन्धनका बैठकहरुमा तारन्तार आफूलाई एमसीसी छिटो संसदमा प्रस्तुत गर्न दवाव आएको बताइरहेपनि धकेल्दै धकेल्दै यो परिस्थितिसम्म ल्याउन सफल भएका प्रचण्ड अहिले भने थेग्न नसक्ने अवस्थामा छन् ।

पार्टीभित्रबाट आइरहेको दवावका कारण उनी गठबन्धन छोडेर भएपनि बोल्ड निर्णय गर्नुपर्ने मनस्थितिमा पुगेको बताइन्छ ।

यदि देउवाको प्रस्तावलाई सत्तासाझेदार दलले अस्वीकार गर्ने हो भने गठबन्धन र सरकार एकैपटक धरापमा पर्न सक्ने देखिन्छ । पछिल्ला दुई दिनभित्र देकिएका घटनाक्रमले प्रचण्ड एमसीसीको विरोधमा उत्रिएर सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको नेताहरूले बताएका छन् ।

मंगलबार पनि प्रचण्डले पार्टीका नेताहरूसँग छलफल गरेका छन् । उनले कसैलाई निवासमै बोलाएर त कसैलाई भर्चुवल माध्यमबाट सुझाव लिइरहेका छन् ।

मंगलबार दिनभरको परामर्शपछि प्रचण्ड एमसीसी संसदमा टेबुल भएको खण्डमा ठुलो कदम उठाउने निष्कर्षमा पुगेको माओवादी स्रोत बताउँछ ।

प्रचण्डले सधैजसो भन्ने गरेकै शब्दमा उनले ‘निरन्तरतामा क्रमभङ्ग’ गर्ने तयारी उनले गरेका छन् । यदि प्रधानमन्त्री देउवाले संसदमा एमसीसी छिराएको खण्डमा उनले सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।

पार्टीका नेताहरूले अहिलेको अवस्थामा एमसीसीको विपक्षमा बसे आगामी चुनाव आफ्नालागि सहज बन्ने र एमसीसीविरोधी जनताको सेन्टिमेन्ट क्याच गर्न सकिने योजना उनलाई सुनाएका छन् ।

आफ्नो पार्टी एमसीसीको विपक्षमा बसेको भन्दै चुनावमा जान सजिलो हुने भएकाले पनि उनी यस्तो निष्कर्षमा पुगेका हुन् ।

आगामी चुनावको एजेण्डा नै एमसीसी हुने पक्कापक्की भैसकेको छ । एमसीसीको पक्षमा लाग्दा भएको जनमत पनि गुमाउनु पर्ने देखिन्छ । त्यसमाथि एमसीसी टेबुल भएको खण्डमा यो माओवादीका लागि नाकाबन्दीमा केपी ओली राष्ट्रवादी भएजस्तै अवसर हुनेछ ।

राष्ट्रहितका लागि गठबन्धन र सरकार छोडेर हामी आयौँ भन्न सकिने भएकाले पनि माओवादीका धेरैजसो नेताहरूले प्रचण्डलाई एमसीसीको विपक्षमा उभिन दवाव दिएका छन् ।

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र, एमालेबाट विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमसीसीको अनुमोदनको विपक्षमा छन्।


Last Updated on: February 3rd, 2022 at 4:12 pm
१०२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया