मंगलबार ०३ जेठ २०७९

कैलाली : देशको सीमा अनुगमन र नियमनको प्रमुख म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालले कैलाली जिल्लामा नेपाल र भारतको सीमामा रहेका सीमास्तम्भहरुको अनुगमन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलाली, नापी विभाग र सरोकारवाला निकायसँगको सहकार्यमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको हो । पछिल्लो अनुगमनमा कैलाली जिल्लास्थित सीमा क्षेत्रमा रहेका ९ ओटा सीमास्तम्भ नदीले बगाएको भेटिएको छ ।

यस वर्ष कर्णाली र मोहना नदीले सीमाक्षेत्रमा रहेका २ मुख्य र ७ सहायक गरी ९ ओटा सीमास्तम्भहरु बगाएको भेटिएको हो । कैलाली जिल्लाले सुरक्षा गर्ने २ सय ८३ ओटा सीमा स्तम्भमध्ये ९ ओटा सीमा स्तम्भहरु नदीले बगाएको कैलालीका शसस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य र सहायक गरी २ सय ८३ ओटा सीमा स्तम्भमध्ये १ सय ८४ ओटा सीमास्तम्भ सुरक्षित रहेको अनुगमनमा भेटिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक सिंहकाअनुसार २० ओटा सीमा स्तम्भ सामान्य मर्मत गर्नुपर्ने, ३ ओटा पुनर्निर्माण गर्नुपर्ने, ३२ ओटा स्तम्भ फेला नै नपरेको र ३५ ओटा सीमा स्तम्भहरु पानीमा डुबेको अबस्थामा रहेको भेटिएको छ ।

नदीले बगाएका, मर्मत गर्नुपर्ने, र हराएका सीमा स्तम्भका सम्बन्धमा नेपाल–भारतको संयुक्त निर्णयकाआधारमा काम थालिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
वर्षा समय नदीमा आउने बाढी र नदीले फेर्ने धारका कारण सीमास्तम्भ बगाउने गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

हराएका, मर्मत गर्नुपर्ने अथवा नदीले बगाएका सीमास्तम्भको नियमित निरिक्षण, अनुगमन र सुरक्षा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

कैलालीमा नेपाल–भारत सीमाक्षेत्र कैलालीको त्रिनगरदेखि टीकापुरको श्रीलंका टापुसम्म १ सय १ किलोमिटिर रहेकोमा सो सीमाक्षेत्रमा १८ ओटा सशस्त्र प्रहरी बल नेपालका (बीओपी) छन् ।


Last Updated on: February 4th, 2022 at 9:04 am
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया