मंगलबार ०३ जेठ २०७९

काठमाडौं । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे ।

उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ।

यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् ।

उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो ।

उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’

पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ रु छानबिन हुन्छ कि हुँदैन् रु भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ ।

उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन् । सबै पक्ष मिलेर जाने वातावरण बनिरहेको छ ।’

पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो सरकारले ६ महिना पूरा गरेको छ। यो सरकारको विश्लेषण गर्दा हरेक पक्षमा यो सरकार असफल भएको छ ।

महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि असफल भएको छ । रोजगारी सिर्जाना गर्न पनि असफल भएको छ । देशको आर्थिक स्थिति अहिले कमजोर छ ।

मुलुकको आर्थिक अवस्था अहिले डरलाग्दो मोडमा पुगेका देखिन्छ । पुँजीगत खर्च भएको छैन् । शोधान्तार घाटा बढ्दै गएको छ । विदेशी सहयोग घटेको छ । अहिले आर्थिक सुचक नकारात्मक छन् ।

मूल्यवृद्धि झण्डै ७ प्रतिशतदेखि कतिपय कुरामा १४–१५ प्रतिशतसम्म भएको छ । आर्थिक वृद्धि २ प्रतिशतभन्दा पनि घटेको छ। अहिले देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ ।’

उनले देश विदेशमा रहेका नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट धानिरहेको अवस्था सुनाए । उनले भने,‘अहिले त्यो पनि क्रमशः घटिरहेको छ। रेमिट्यान्स बैंकिङ च्यानलबाट आएको छैन् ।

सरकारले अहिलेको समस्या समाधानको लागि पहल गरेको छैन, बास्तवमा सरकार र अर्थमन्त्रीले यसको लागि प्रयास गरेको देखिएको छैन् ।’

मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको सुनाए । उनले भने,‘स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेर भनिएको छ। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा यो कुरा आएको छ, तर औपचारिक रुपमा आएको छैन् ।

निर्वाचनको लागि पनि आयोगले तयारी गरिरहेको कुरा छ, कतै शंका र उपशंका छ । एमसीसीको चपेटामा यो सरकारले स्थानीय तहको निर्वाचन नगर्ने हो कि भन्ने देखिन्छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ ।

तर, माओवादी र नेकपा (एकीकृत समाजवादी) पारित गर्ने पक्षमा छैनन् । उनीहरुले यदि एमसीसी पारित गर्ने प्रयास गरियो भने हामी विपक्षमा जान्छौं भनेको अवस्था छ । समग्रमा हेर्दा सरकारको गतिविधि सकारात्मक देखिँदैन् । यो पनि दुर्भाग्यपूर्ण छ।’

पाठकले स्थानीय तह निर्वाचन परिचालनसम्बन्धी समितिको आफू संयोजक भएको उल्लेख गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीले सबै तहको निर्वाचनमा भाग लिने जनाए । उनले भने,‘निर्वाचनमा कोसँग तालमेल हुने भन्ने कुरा भविष्यको विषय हो ।’


Last Updated on: February 7th, 2022 at 9:07 am
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया