बुधबार ०४ जेठ २०७९

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गोर्खा भर्ती असान्दर्भिक भएको उल्लेख गर्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेता नेपालले बेलायतसँगको विगतका सम्झौता असान्दर्भिक भएको बताए ।

‘विगतमा भएका सन्धि सम्झौता पुराना र असान्दर्भिक भइसके । अब नयाँ सम्झौतामा जानुपर्छ । प्रत्येक मुलुकसँग नयाँ सम्झौता हुनुपर्छ’, उनले भने, ‘असान्दर्भिक भैसकेको सम्झौतामा रहेर गोर्खा भर्ती गर्न’ उचित होइन ।’

भूतपूर्व गोर्खा सैनिकको समस्यालाई चाँडै टुंगोमा लैजान सरकारले काम गर्नुपर्ने उनको भनाइ छ । उनले गोर्खा भर्तीबारे मुलुकको साझा धारणा बन्नुपर्ने बताए । ‘तर हामीभित्रको संकीर्णताले काम हुन सकेको छैन’, उनले भने ।

समिति सदस्य दिव्यमणि राजभण्डारीले भारतमा बेलायती उपनिवेश कालमा गरेको सम्झौताको औचित्य सकिएको बताउँदै यो प्रणालीको अन्त्य हुनुपर्ने बताए । ‘भारत र बेलायतसँगको सम्झौता समयसापेक्ष छैन’, उनले भने ।

समिति सदस्य तथा एमाले नेता भीम रावलले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा काम हुन नसेकेको र सरकारले खुट्टा कमाएको आरोप लगाए । यसबारे परराष्ट्रमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने रावलको भनाइ छ ।

नेपालले तत्काल उच्चस्तरीय समिति बनाएर बेलायतसँग वार्ता गर्नुपर्ने उनको भनाइ छ । यसबारे परराष्ट्रमन्त्रीलाई चिठी लेख्नुपर्ने उनको भनाइ छ ।


Last Updated on: February 8th, 2022 at 1:21 pm
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया