मंगलबार ०३ जेठ २०७९

काठमाडौं।

सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन एक चौथाई प्रतिनिधि सभा सदस्यको हस्ताक्षरसहितको प्रस्ताव दर्ताका लागि तयारी अवस्थामा राखिएको खुलासा नेकपा एमालेका नेता महेश बस्नेतले गरेका छन् ।

एमालेले नै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ग्रीन सिग्नल आउने वित्तिकै प्रस्ताव दर्ता गर्ने तयारी भएको बुझिएको छ ।

महेश बस्नेतले त सभामुखलाई हटाउने प्रस्ताव ल्याउन एक सयजना सांसदको हस्ताक्षर तयारी अवस्थामा राखिएको खुलाइसकेका छन् । प्रस्ताव केही दिनमै दर्ता गर्ने गरी ठिक्क पारिएको बुझिएको छ ।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्न कुनैपनि सांसदले एक चौथाई सांसदहरुको हस्ताक्षरसहित बुझाउनुपर्नेछ । सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै यस्तो प्रस्ताव आउन सक्छ । संविधान अनुसार सभामुखलाई पदमुक्त गर्न उक्त प्रस्ताव दुई तिहाईले पारित हुनुपर्छ ।

विश्वस्त स्रोतका अनुसार देउवा र ओलीबीच चुनावको मिति तोक्ने र एमसीसी पारित गर्ने भद्र सहमति बनेको छ । एमसीसीमा सभामुख अवरोध बनेमा हटाउनेसम्मको तयारी भएको छ ।

सभामुखलाई हटाउन संसदको अंकगणितले उत्तिकै भूमिका खेल्छ । संसदमा २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । एक तिहाई सदस्य नेकपा एमालेको मात्र पुग्छ । त्यसैले एमालेले नै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

प्रस्ताव पेश भएमा पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ ।संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।
नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।

एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको मात्र समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ । जसपाको अधिकांश सांसद एमसीसीको पक्षमा उभिने अवस्था बनेकाले सभामुखविरुद्ध हटाउने प्रस्ताव आएमा जसपाको बहुमत सांसद पक्षमा जानसक्छन् । तर, एमालेबाट डा भीम रावललगायतका एमसीसी विरोधी नेताहरुले विद्रोह गर्न सक्छन् । रावलले एमसीसीविरुद्ध अभियान नै चलाएका छन् । रावलले १३ सांसद बनाउन सके माहोल नै फरक हुनसक्छ । Khabar prawaha bata


Last Updated on: February 9th, 2022 at 11:30 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया