बुधबार ०४ जेठ २०७९

बालबालिकाको पहिलो सहारा र भरोसा आमाबाबु हुन्। तिनै आमाबाबुबाट उनीहरू पिटिन्छन् अर्थात शारीरिक यातना पाउँछन् भने के गर्ने?

धेरै मुलुकहरूले बालबालिकालाई तिनका आमाबाबु, अभिभावक, शिक्षक वा अरू कसैले पनि शारीरिक र मानसिक यातना दिन नपाउने गरी कानुन बनाएर कार्यान्वयन गरेका छन्।

विश्वमा नेपाल बालबालिकालाई कुनै पनि बहनामा शारीरिक र मानसिक यातना दिन नपाउने गरी कानुन बनाउने ५८ औं र दक्षिण एसियामा पहिलो मुलुक हो। यो कानुनले बालबालिकालाई कुटपिट गर्ने आमाबाबुलाई पनि सजाय हुने व्यवस्था गरेको छ। शिक्षक वा अन्यलाई पनि सजाय हुने भइगयो।

नेपालमा यो कानुन बालअधिकार रक्षामा निकै महत्वपूर्ण मानिएको भए पनि यसबारे धेरैलाई थाहा छैन। थाहा नभएपछि कार्यान्वयन हुँदैन। राज्यलाई यो कानुनको व्यावहारिक कार्यान्वयनमा धेरै समय लाग्ने देखिन्छ।

घरमा बालबालिकाले बाबुबाट यातना पाउने गरेका छन् भने उनीहरूले आमासँग सहारा खोज्छन्, आमाले यातना दिन्छिन् भने बाबुसँग। आमाबाबु दवै यातना दिने स्वभावका छन् भने बालबालिकाहरू बेसहारा बन्छन् तैपनि उनीहरूसँग अर्को उपाय हुँदैन।

यस्ता बालबालिकाहरू आफ्नो मनको कुरा वा भावना आमाबाबुसँग भन्न सक्दैनन्। उनीहरू डराएका हुन्छन्। यस्तो अवस्थामा आमाबाबु भने छोराछोरी तह लागेको वा ज्ञानी भएको ठान्छन्। आमाबाबुहरू छोराछोरीलाई आज्ञाकारी, ज्ञानी वा अनुशासित बनाउन पिट्नु परेको जिकिर गर्छन्। वास्तविक परिणाम भने योभन्दा उल्टो हुन्छ।

बालबालिकाहरू विद्यालयमा पनि कुटपिटमा पर्छन्। विद्यार्थीलाई अनुशासनमा राख्न वा शिक्षण सिकाइका क्रममा अलिअलि पिट्नु परेको जिकिर गर्छन्। बालबालिकाले आमाबाबु र अभिभावकहरूबाट सिकेको कुरा नै सँस्कृतिका रूपमा अघि बढेको हुन्छ। उनीहरू घर र विद्यालय दुवैतिर कुटपिट सिकेर हुर्के भने असल सँस्कृति बन्दैन।

बालबालिकाहरू लेखपढ गर्न र नयाँ ज्ञान सिक्न विद्यालय जान्छन्। त्यसैले विद्यालय ज्ञानको मन्दिर मानिन्छ। यस्तो मन्दिरमा बालबालिकाहरू कुनै पनि रूपमा प्रताडित हुन नहुने हो, उनीहले विद्यालयमा आफूलाई पूर्णरूपले सुरक्षित ठान्नुपर्ने हो। कतिपय शिक्षक–शिक्षिकाहरू कोमल शरीरका निरीह बालबालिकालाई शारीरिक यातना दिइरहेका हुन्छन्।

यसै पनि कलिला बालबालिकाहरू शारीरिकरूपमा कमजोर हुन्छन्। मनोबल पनि पूर्ण विकसित भएको हुँदैन। यस्ता बालबालिकाहरू नै विद्यालयमा गृहकार्य नगरेको, राम्ररी नपढेको, अनुशासन उल्लंघन गरेको वा यस्तै कुनै आरोपमा पिटिन्छन्। उनीहरूको कुरा सुनुवाइ हुँदैन। सुनुवाइ नहुने भएपछि गुनासो गर्न अघि सर्दैनन्।

म विद्यालयमा पढ्दा कुनै न कुनै निहुँमा हरेक दिन कसै न कसैले पिटाइ खान्थ्यो। कक्षामा कमजोर ठानिएको विद्यार्थीले बढी पिटाइ खान्थ्यो। यस्तो विद्यार्थी आज पिटाइ खाने दिन हो भनेर पहिले नै थाहा पाउँथ्यो र त्रासमा हुन्थ्यो। यस्तो त्रास र मानसिक चिन्तामा हुने विद्यार्थीले कसरी सिक्नु! ऊ कसरी जान्ने हुनु! ऊ सधैं कमजोर रहन्थ्यो।

बालबालिकाको भावना र मनोविज्ञानबारे ज्ञान नहुँदा वा यसतर्फ ध्यान नदिँदा यातनाको प्रवृत्ति विकास भएको हो। यस्तो प्रवृत्ति बिस्तारै परिवर्तन भने हुँदैछ।

बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउने र उनीहरूको ज्ञान पढाउने राम्रो उपाय प्रोत्साहन र पुरस्कार नै हो । घरमा होस् कि विद्यालयमा, बालबालिकाले कुनै किसिमको त्रासबिना बोल्न र आफ्नो मनको कुरा भन्न पाउने वातावरण हुनुपर्छ। सोध्न चाहेको कुरा निर्धक्क सोध्न पाउनु पर्छ।

घरमा आमाबुबालाई कुनै कुरा सोद्धा वा मनको कुरा भन्दा गाली खान्छु वा सजाय पाउन सक्छु भन्ने भयो भने उनीहरू केही पनि भन्दैनन्। विद्यालयमा पनि शिक्षकलाई कुनै प्रश्न गर्दा गाली खान्छु, पिटाइ खान्छु वा उपहासमा पर्छु भन्ने लाग्यो भने प्रश्न गर्दैनन्। विद्यार्थीले प्रश्न नगर्ने शिक्षण सिकाइ उपलब्धिमूलक हुँदैन, यद्यपि कक्षा अनुशासित ठानिन सक्छ।

बालबालिका अनुकूलको वातावरण छ भने उनीहरू घरमा र विद्यालयमा आफ्नो मनको कुरा निर्धक्क भएर भन्छन्। शिक्षकलाई प्रश्न सोध्न अघि सर्छन्।

यातना दिनु अपराध हो। हामीले भन्ने गरेको कुटपिट शारीरिक दुर्व्यवहारसँग बढी सम्बन्धित छ। यातना चाहिँ शारीरिक र मानसिक दुवै हुन्छ। बालअधिकारमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफका अनुसार धेरै गाली गरेर बालबालिकामा त्रास जगाउनु पनि शारीरिक दण्डजस्तै आपराधिक काम हो।

धेरै देशहरूमा बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनुलाई कानुनले अपराध करार गरेको छ। बालअधिकारको रक्षार्थ धेरै देशहरूमा कानुन बनेको छ। यस्तो कानुनले आमाबाबु र अभिभावकलाई पनि आफ्ना बालबालिकालाई कुटपिट गर्न रोक लगाएको छ। कुटपिटको अपराधमा आमाबाबुलाई नै कैद सजाय हुन सक्छ।

सबैभन्दा पहिला नर्डिक राष्ट्रहरूले बालबालिकामाथि कुटपिट गर्नुलाई अपराध मानेर कानुन बनाएका हुन्। स्वीडेनले आमाबाबु र अभिभावकले पनि आफ्ना बालबालिकालाई कुटपिट गर्न नपाउने गरी सन् १९६६ मै कानुन बनाएको हो। बालबालिकालाई यातना दिनु अपराध मानेर कानुन कार्यान्वयन गर्ने विश्वको पहिलो मुलुक स्वीडेन नै हो।

बालबालिकालाई यातना दिएको प्रमाणित भए आमाबाबु नै पनि कैद हुन सक्छन्। आफ्ना बाल छोराछोरीलाई यातना दिएको वा दुर्व्यवहार गरेको अभियोगमा कैद सजाय पाएका आमाबाबुले निश्चित अवधिसम्म छोराछोरीलाई भेट्न नपाउने प्रावधान पनि छ।

यति कडा कानुन भए पनि सन् २०२० मा स्वीडेनमा १८ वर्षमुनिका बालबालिकालाई यातना दिएका करिब २४ हजार घटना दर्ता भएका थिए।

नेपालमा कानुन त बनेको छ तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यो कानुन कार्यान्वयन भएर हाम्रो व्यवहारमा परिवर्तन आउन दशकौं लाग्न सक्छ। कानुनभन्दा बढी चेतनाले काम गर्छ। आमाबाबु र अभिभावकहरूमा बालअधिकार, बालमनोविज्ञान र उनीहरूको व्यक्तित्व विकास लगायतका विषयमा चेतना बढाउन सके बालबालिकामाथि हुने शारीरिक तथा मानसिक यातना कम हुँदै जानेछ।

विद्यालयका शिक्षकहरूमा पनि यस्तो चेतना आवश्यक छ।

जन्मिने बित्तिकै बच्चा किन रुन्छ ? दुःख-पीडा भएर होइन। नवजात शिशुको आँखामा आँसु नै बनेको हुँदैन, आवाज निकालेर चिच्याउने मात्रै हो। रुनुको खास अर्थ चाहिँ म यहाँ छु, मेरो रेखदेख गर, मलाई सुरक्षा देऊ भन्ने हो। रुनुको अर्थ सहारा माग्नु हो। म सानो छु, असक्षम छु, मलाई सुरक्षा देऊ भन्न रुनु परेको हो।

हुर्किँदै जाँदा शिशुहरू अरूले बोलेको सुन्दा मुस्कुराउन थाल्छन्। मुस्कुराउनु पनि शिशुले आफ्नो सन्देश दिनु हो। सुरक्षा, सहारा, खानाको खोजी वा अस्वस्थतामा बालबालिकाहरू रोएरै अभिभावकलाई सचेत गराउँछन्।

बालमनोविज्ञान सम्बन्धी एक अध्ययनमा कुटपिट वा अन्य कुनै पनि यातनामा नपरेका बालबालिकाहरू पढाइ, मानसिक स्वास्थ्य र काममा सफल हुने गरेको पाइएको छ। अभिभावकबाट कुनै पनि यातना नपाएका बालबालिकाले वयस्क भएपछि पनि आफ्ना आमाबाबु वा आभिभावकसँग नजिकको सम्बन्ध राख्ने गरेको पनि पाइएको छ।

आमाबाबु र अभिभावकको जिम्मेवारी आफ्ना बालबालिकालाई शारीरिक वा मानसिक यातनाबाट जोगाउनु हो, उनीहरूलाई सुरक्षा दिनु हो। यसमै परिवारजनको खुसी र बालबालिकाको सफलता निहित हुन्छ।

नेपालका विद्यालयहरूमा पनि बालबालिकालाई शारीरिक यातना दिने प्रवृत्ति बिस्तारै कम हुँदै गएको छ। नेपालले बालअधिकार रक्षाको निम्ति कानुनी मार्ग अपनाउनु सकारात्मक छ। गाउँ–सहर सबैतिर बालबालिकालाई कुटपिट गर्नु, मानसिक यातना दिनु अपराध हो, मानवअधिकार हनन हो भनेर प्रचारप्रसार गर्नु आवश्यक छ।

मलाई विश्वास छ यो लेख पढेपछि तपाईंले पनि आफ्ना परिवारजन, छिमेकी र अन्य सरोकारवालाहरूलाई बालबालिका माथि हुने कुटपिट, दुर्वयवहार र यातना अपराध हो भने सचेत गराउनु हुनेछ। Setopati bata

(पेसाले स्वास्थ्यकर्मी लेखक थापा सिन्धुलीका हुन् र हाल स्वीडेनमा विद्यावारिधि गरिरहेका छन्।)


Last Updated on: February 9th, 2022 at 12:48 pm
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया